दमक, ८ साउन । अकबरे खुर्सानी भोजपुर किसानको आम्दानीको स्रोत बनेको बताइएको छ । पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको छ ।
भोजपुरको पौवादुङमा गाउँपालिकाको अधिकांश भूगोलमा खुर्सानीको व्यावसायिक खेती भइरहेको छ । गाउँपालिकाले व्यावसायिक खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमले खेती विस्तारमा सहयोग गरेका कारण यहाँको करिब पाँच सय हेक्टर क्षेत्रमा किसानले खुर्सानी खेती गरिरहेका कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताउनु भएको छ ।
समग्रमा पालिका क्षेत्रमा करिब नौ सय कृषकले व्यावसायिक अकबरे खुर्सानी खेती गरिरहेका छन् । खुर्सानी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका उहाँले बताउनु भएको छ ।
गत आर्थिक वर्षमा ६ सय हेक्टर क्षेत्रमा लगाइएको करिब रु २५ करोड बराबरको खुर्सानी बिक्री भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्र प्रमुख मुकेशकुमार यादवले यस वर्ष जिल्लाभर छ सय नौ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती भइरहेको बताउनु भयो ।
यहाँको पौवादुङमा गाउँपालिकामा अकबरेको बढी खेती भइरहेको छ भने भोजपुर नगरपालिका र अरुण गाउँपालिकालगायत क्षेत्रमा पनि खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित खुर्सानी ठेकेदारमार्फत धरान, इटहरी, विराटनगर, झापा, बिर्तामोड, काठमाडौँलगायत सहरमा पुग्ने गरेको बताइएको छ ।










