दमक, साउन १४ /झापाको कमल गाउँपालिका–७ मा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमसंगै जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। वडाकार्यालयमा आयोजित कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा ४०० जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको हो।
स्वास्थ्य केन्द्रका प्रमुख अमृत थेगिमका अनुसार परीक्षणमा २५० महिला र १५० पुरुष गरी कुल ४०० जनाले लाभ लिएका छन्। परीक्षणका क्रममा ब्लड प्रेसर, सुगरजस्ता रोगहरूको प्रारम्भिक परीक्षण गरिएको थियो। परिक्षणपश्चात निशुल्क औषधी समेत बितरण गरिएको थियो ।
वडाध्यक्ष पृथ्वीपति राईको आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाका जनप्रतिनिधिहरूको समेत उपस्थिति थियो। कमल ७ वडाले यसअघि पनि वृद्धवृद्धाका लागि सहयोगी गतिविधिहरू गर्दै आएको छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना रहेको वडाअध्यक्ष राईले बताउनुभयो ।










