दमक, १८ साउन । न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन वर्षाका गतिविधि बढ्ने जल तथा मौसम विज्ञान विभाग जनाएको छ ।
आज पनि देशभर बदली भई ठाउँठाउँमा वर्षा भएको छ भने यो क्रम भोलिदेखि झन् बढ्ने भएको जनाइएको हो । भोलिदेखि न्यून चापीय रेखा उत्तरतर्फ गएकाले तराईमासमेत वर्षा हुने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
उनका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ ।
वर्षा हुने प्रणाली सक्रिय भएकाले अबको तीन दिन वर्षाका गतिविधि बढ्ने मौसमविद् कँडेलले बताइन् । अहिले कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले जानकारी दिए ।
महाशाखाले राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।










