दमक, साउन १८ /
सामाजिक सुरक्षा कार्यक्रमलाई सेवा र सहानुभूतिसँग जोड्दै झापाको कमल गाउँपालिका–६ नम्बर वडाले बृद्धभत्ता वितरण कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ।
वडाबाट वितरण गरिएको बृद्धभत्तासँगै जेष्ठ नागरिकलाई लक्षित स्वास्थ्य परीक्षण कार्यक्रम वडा कार्यालयको आयोजनामा तथा आधारभूत स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। स्वास्थ्य परीक्षणमा रक्तचाप, मधुमेह लगायतका समस्या पहिचान गरिनुको साथै आवश्यक पर्ने सामान्य औषधिहरु निःशुल्क प्रदान गरिएको स्वस्थ्य चौकी प्रमुख बिसर्जन मोक्तानले जानकाराी दिनुभयो ।
स्वास्थ्य परीक्षण कार्यक्रममा ३५४ जना जेष्ठ नागरिकहरुले स्वास्थ्यलाभ लिएका छन्। कार्यक्रममा ज्येष्ठ नागरिकले वडाले दिएको सेवाले निकै राहत र आत्मसन्तुष्टि मिलेको प्रतिक्रिया दिएका थिए। उनीहरुले ज्येष्ठ नागरिकप्रतिको स्थानीय सरकारको सहानुभूतिपूर्ण व्यवहार र सेवामूलक सोचको प्रशंसा गरेका छन्।
कार्यक्रममा कमल–६ का वडाध्यक्ष नरेन्द्र भट्टराईले ज्येष्ठ नागरिकहरुको सेवा गर्नु वडा कार्यालयको प्रमुख सामाजिक दायित्व भएको बताउँदै यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकमा सम्मानको भावना बढाउने विश्वास व्यक्त गर्नुभयो । यस अवसरमा वडाका कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा जेष्ठ नागरिक संघका प्रतिनिधिहरुको समेत सक्रिय सहभागिता रहेको थियो।










