दमक,२१ साउन । सुनसरीबाट प्रहरीले स्रोत नखुलेको रकम र लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित २ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा १ जना भारतीय नागरिक पनि छन् ।
कोशी गाउँपालिका–१ लौकहीबाट मंगलबार साँझ २ जनालाई पक्राउ गर्दा २ लाख ५६ हजार रूपैयाँ नगद र ८८ ग्राम ३ सय ८० मिलिग्राम खैरो हेरोइन बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताउनु भयो । उहाँका अनुसार कोशी गाउँपालिका–४ का ३४ वर्षीय मनोजकुमार खत्वे र भारत अररिया बस्मतियाका ४५ वर्षीय राजकुमार खत्वेलाई साँझ ५ बजेतिर पक्राउ गरिएको हो ।
मनोजको साथबाट स्रोत नखुलेको २ लाख ५६ हजार र राजकुमारको साथबाट ८८ लाख ग्राम ३ सय ८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने वस्तु बरामद भएको डीएसपी खतिवडाले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाइएको छ ।
त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का २० वर्षीय रमेश बस्नेत पक्राउ परेका छन् । उनलाई प्रहरीले मंगलबार साँझ इनरुवा नगरपालिका–४ बाट पक्राउ गरेको हो ।
पैदल हिँडिरहेका उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथबाट ब्राउन सुगर बरामद भएको थियो । बस्नेतको साथबाट १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ ।







