दमक, २२ साउन | दमकमा पछिल्लो समय बढ्दो अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको स्थितिमा सुधार ल्याउन इलाका प्रहरी कार्यालय दमकले स्थानिय पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
बुधबार सम्पन्न उक्त कार्यक्रममा प्रहरी प्रमुख डीएसपी रामप्रसाद तिमल्सिनाले दमकमा सक्रिय सञ्चारकर्मीहरूलाई निम्त्याएर उनीहरूको अनुभव, अवलोकन र सुझाव लिनुभयो ।
झण्डै १५ जना पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले दमकमा लागुऔषधको कारोबार र प्रयोग अत्याधिक रुपमा बढ्दै गएको जनाउँदै यसको नियन्त्रणमा प्रहरीको थप प्रभावकारी एक्सन आवश्यक रहेको बताएका थिए।
साथै, दमकमा चोरीका घटना समेत बढ्दो भएकोले यस्ता अपराधमा संलग्नलाई तत्काल पहिचान गरी कारवाही गर्नुपर्ने आवाज उठ्यो। नदिजन्य सामग्रीको अवैध उत्खनन र त्यसबाट आम उपभोक्ता महँगोमा बालुवा, गिटी किन्न बाध्य भइरहेका विषयमा पनि ध्यानाकर्षण गराइएको थियो।
पत्रकारहरूले दमकमा रात्रिकालीन बजारलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने र यसबाट “दमक सधैं खुला र सुरक्षित सहर हो” भन्ने सकारात्मक सन्देश दिन सकिने सुझाव समेत दिएका थिए।
सुझाव सुनेपछि प्रहरी प्रमुख तिमल्सिनाले सञ्चारकर्मीहरूलाई शान्ति सुरक्षामा संलग्न सबै निकाय र समुदायसँग सहकार्य गर्दै दमकलाई अपराधमुक्त बनाउने दृढता व्यक्त व्यक्त गर्नुभयो ।
“म यस कार्यालयको कमान्ड सम्हालेको केवल ६ महिना भएको छ, तर यो छोटो अवधिमा पनि यहाँका चुनौतीहरूबारे बुझ्न सकेको छु। अब पत्रकारहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै अगाडि बढ्छौं,” डीएसपी तिमल्सिनाले बताउनुभयो ।
कार्यक्रमले समुदाय–प्रहरी साझेदारीलाई अझ बलियो बनाउने संकेत दिएको सहभागीहरूको भनाइ थियो।
स्थानीय तह, सञ्चारमाध्यम र सुरक्षा निकायको समन्वयमा मात्रै दमकमा दिगो शान्ति र अपराध नियन्त्रण सम्भव हुने विश्वास समेत व्यक्त गरिएको थियो।







