सुनसरी, २२ साउन – देशको प्रमुख नदीमध्ये एक कोशीमा बाढीको जोखिम यथावत छ। बिहीबार बिहान कोशी ब्यारेजमा पानीको वहाव १ लाख ५५ हजार क्युसेक (cusec) पुगेको छ, जुन डेण्जर लेभलको रूपमा चिनिन्छ।
डेण्जर स्टाटस दिइए पनि पानीको बहाव क्रमशः घट्दो क्रममा रहेको कोशी ब्यारेज कार्यालयले जनाएको छ। पछिल्लो जानकारीअनुसार, पानीको बहाव ‘फ्यालिङ ट्रेन्ड’ अर्थात् घट्दै गएको भए पनि सतर्कता कायमै राख्न अधिकारीहरूले आग्रह गरेका छन्।
कोशी ब्यारेजमा जलस्तर १ लाख ५० हजार क्युसेक नाघेपछि ‘डेण्जर’ स्टाटस घोषणा गरिन्छ। अहिलेको बहाव उक्त सीमा पार गरिसकेकाले आसपासका बस्तीमा जोखिम अझै टरिसकेको छैन।
स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूलाई उच्च सतर्क अवस्थामा राखिएको छ। खतरा क्षेत्र आसपासका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको तयारी पनि भइरहेको छ।
वर्षात् अझै केही दिन जारी रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेकोले जोखिम अझै टरिसकेको छैन। स्थानीयवासी र किसानहरूलाई बाढीबारे सावधानी अपनाउन आग्रह गरिएको छ।







