कचनकवल, २३ साउन । डिजिटल सहकारी संस्था लिमिटेड, बनियानीका बचतकर्ताहरुले आफ्ना बचत रकम पटक–पटक माग्दा पनि फिर्ता नपाएको गुनासो गरेका छन्।
उनीहरुले पत्रकार सम्मेलन गर्दै आफूहरुले वर्षौंको मेहनतबाट जम्मा गरेको लाखौं रुपैयाँ सहकारीले फिर्ता नदिएको भन्दै आक्रोश पोखेका छन् ।
बचतकर्ताहरुका अनुसार सहकारीमा धेरैले ५ लाखदेखि ७ लाख रुपैयाँसम्म बचत गरेका छन्। तर, २–३ वर्षदेखि लगातार धाउँदा पनि हालसम्म आफ्नो रकम फिर्ता नपाएको उनीहरु गुनासो गर्छन् ।
पूर्व गाउँपालिका अध्यक्ष अञ्जार आलम संचालक समिति अध्यक्ष रहेको सो सहकारीका व्यवस्थापक बिमल साहका अनुसार सहकारीले हाल एक करोड रुपैयाँभन्दा बढीको कर्जा उठाउन बाँकी रहेको छ, जसका कारण बचत फिर्ता गर्न समस्या आइरहेको बताँउनु भयो ।
“हामी बचतकर्ताको रकम क्रमशः फिर्ता गरिरहेका छौं,” व्यवस्थापक साहले भन्नु भयो,“तर बजारबाट उठाउनु पर्ने एक करोड रुपैयाँ बराबरको रकम उठाउन कठिन भइरहेको छ। त्यही कारण बचत फिर्तामा ढिलाइ भएको हो।”
उहाँले हाल फिर्ता गर्नुपर्ने बचत रकम लगभग २० लाख रुपैयाँ मात्रै रहेको भन्दै चाँडै नै बाँकी रकम फिर्ता गरिने आश्वासन पनि दिनु भयो।
सहकारीले खराब ऋणीहरुमाथि कडाइ गरी रकम उठाउने र त्यसपछि बचतकर्ताको पैसा फिर्ता गर्ने योजना बनाएको साहले जानकारी समेत दिनु भयो ।










