भोजपुर,२३ साउन । भोजपुरका नेवार समुदाय परम्परागत लाखे जात्रासँगै संस्कार, संस्कृतिको संरक्षणमा जुटी रहेका छन् ।
पछिल्लो समय स्थानीय कला, संस्कार, संस्कृति तथा मौलिक परम्परा लोप हुने खतरा बढेसँगै उनीहरू परम्पराको संरक्षणमा जुटेका हुन् ।
नेवार समुदायको संस्कृतिका रूपमा मादल, झ्याली र ढोलक बजाउँदै नाचिने ठाकठुके नाच सिकाउँदै परम्परागत रीतिरिवाजलाई नयाँ पुस्तासम्म पुर्याउने काम भइरहेको स्थानीयवासी चन्द्रप्रसाद श्रेष्ठले बताउनु भयो । नेवार समुदायमा लाखेजात्रा, गाईजात्रा, बुबाआमाको मुख हेर्ने दिन, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, तिहार, म्हःपूजा, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने चलन रहेको उहाँले बताउनु भयो ।
आधुनिकताको विकाससँगै यो संस्कृतिको मौलिकता हराउने अवस्था आएकाले नयाँ पुस्तासम्म पुर्याउन संरक्षणमा जोड दिएको नेवाः देय दवू भोजपुरका अध्यक्ष बद्री श्रेष्ठले बताए । यस्ता मौलिक परम्पराको संरक्षण गर्न जिल्लाको विभिन्न ठाउँमा कार्यक्रम हुने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
नेवार समुदायको बाहुल्यता रहेको भोजपुर सरदमुकाम, टक्सार, दावाँ बजार, दिङला बजारलगायत स्थानमा नागपञ्चमीदेखि लाखे नाचको सुरूआत गरिएको छ । नेवार समुदायको लाखे नाचका क्रममा स्थानीय वेशभूषा, रहनसहनको प्रदर्शनीसँगै गाईजात्रा, घोडेजात्रा, वैरागी जात्रा, रोपाइँ जात्रालगायतका माध्यमबाट समाजका विकृति, विसङ्गतिप्रति व्याङ्ग्य गर्दै सर्वसाधारणलाई मनोरञ्जन दिने चलन रहेको छ ।










