दमक, ५ साउन । लेटाङमा चिसाङ खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लेटाङ–१ अँधेरी अमलबोटेका ७० वर्षीय वुद्धवीर तामाङ र लेटाङ–२ का ५५ वर्षीय टिंके तामाङलाई चिसाङ खोलाले बगाएको हो ।
हिजो साँझ करिब ५ बजेतिर लेटाङ–१ बगुवाबाट खोला तर्ने क्रममा उनीहरूलाई खोलाले बगाएको स्थानीयको भनाइ छ। खोलाले बगाएपछि लामिटार क्षेत्रमा शव फेला परेको स्थानीयले बताएका छन् ।
शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख इन्स्पेक्टर राकेश रेग्मीले जानकारी दिनु भयो ।
सो क्षेत्रमा पुल नहुँदा जोखिम बढेको भन्दै स्थानीयले पटक पटक पुलको माग गर्दै आएको बताएका छन्।










