ताप्लेजुङ,१० भदौ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ। विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।
सो पोखरी समुद्र सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको छ। स्थानीयवासीका अनुसार पोखरीले मौसम अनुसार रङ्ग बदल्ने गर्दछ। कहिले आकाश जस्तै नीलो हुन्छ भने कहिले रातो हुने गरेको छ। पछिल्लो समय यस क्षेत्रको प्रचारप्रसार हुन थालेसँगै पर्यटक आउन थालेका यस क्षेत्रमा पथप्रदर्शक गर्ने पान्दे शेर्पाले बताउनु भयो ।
विगतमा यहाँका तस्बिर, सामन्य भिडियो सामाजिक सञ्जाल मार्फत केही प्रचारको काम भएको मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताउनु भयो । शेर्पाका अनुसार यस क्षेत्रमा एक सयको हाराहारीमा पोखरी छन् तर यस पोखरीको वैज्ञानिक अनुसन्धन हुन बाँकी रहेको शेर्पाले बताउनु भयो।
शेर्पाका अनुसार वडाको समन्वयमा यहाँका पोखरी तथा तालको वैज्ञानिक अध्ययन गर्ने योजना छ। पोखरी तथा ताल खसम्बन्धी विज्ञहरूको टोलीमार्फत पोखरीको गहिराइ, लम्बाइ तथा चौडाइ र जिपीएस मापनजस्ता काम गर्ने योजना छ।
यस क्षेत्रमा रहेका पोखरीको संरक्षणका काम खासै केही नभएको साथै यस विषयमा गाउँपालिकाको नजर नपुगेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पाले बताँउनु भएको छ । मानवले क्षति नपु¥याएसम्म यहाँका पोखरी आफैँमा संरक्षित रहने उहाँले बताउनु भयो ।
उपाध्यक्ष शेर्पाका अनुसार पोखरी क्षेत्रको प्रचारप्रसारका काम भइरहेको छ। पदमार्ग निर्माण तथा पर्यटकका लागि पाटीपौवा निर्माण भइरहेको छ। यस क्षेत्रमा रहेका पोखरीको प्रचारप्रसार गर्न चालु आर्थिक वर्षमा लोदेन क्षेत्रमा भिडियो सम्मेलन गर्न पालिकाले आवश्यक बजेट विनियोजन गरेको उपाध्यक्ष शेर्पाले बताउनु भयो। आवश्यक घरवास (होमस्टे) सञ्चालनका लागि पनि पहल भइरहेको उहाँले बताउनु भयो ।
 
								 
								 
								 
											 
								 
								 
								 
								 
								 
								 
								








