दमक, ११ भदौ । कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई ८ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको बाएको छ ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईका अनुसार आर्थिक वर्ष २०८१÷ ८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका छन्।
क्यान्सर, मिर्गाैला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमियालगायतका बिरामीले अघिल्लो आर्थिक वर्ष २०८०÷ ८१ मा दिएका निवेदनका आधारमा ५० हजार र एक लाखका दरले आर्थिक सहायता वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले क्यान्सर, मिर्गाैला, स्पाइनल इन्जुरी, हेड इन्जुरीका एक हजार ६६० बिरामीलाई रु ५० हजारका दरले र मिर्गौला ट्रान्सप्लान्टका ५५ बिरामीलाई एक लाखका दरले सहायता रकम वितरण गरिएको बताउनुभयो । चालु आर्थीक वर्ष २०८२÷ ८३ मा सरकारले आर्थिक सहायताका लागि बजेट विनियोजन नगरेको उहाँले जानकारी दिनु भयो ।
विगतको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गर्नेलाई दुई लाख र अन्य कडा खालका रोग लागेकालाई एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर माग धेरै र बजेट अभाव भएपछि सरकारले गत वर्ष आधा मात्रै बाँड्ने निर्णय गरेको हो ।
उहाँले विसं २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको बताउनु भयो । प्रदेशमा कडा रोग लागेका बिरामीलाई पहिलोपल्ट आर्थीक वर्ष २०७९÷ ८० बाट आर्थिक सहायता वितरण सुरु गरिएको हो ।









