विराटनगर । सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले मोरङको धनपालथान गाउँपालिकास्थित नमूना सहकारीका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
सहकारीको एक करोड ९० लाख रुपैयाँ भन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले मोरङ धनपालथान ४ कर्सियास्थित सहकारीका दुई कर्मचारीलाई पक्राउ गरेको हो ।
प्रहरीले सहकारीका लेखापाल धनपालथान–४ का ६० वर्षे सविलाल राजवंशी र सह–लेखापाल धनपालथान–६ का ५५ वर्षे राजकुमार राजवंशीलाई पक्राउ गरेको जनाएको छ ।
सहकारीले दिएको किटानी जाहेरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । दुवै जनाविरुद्ध प्रहरीले सहकारी ठगीका विषयमा अनुसन्धान गर्न मोरङ जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ ।
सहकारी सञ्चालक समितिका उपाध्यक्ष सर्वेलाल राजवंशीले लेखा परीक्षण प्रतिवेदनले सरकारीको ठुलो रकम भ्रष्टाचार भएको देखाएको बताए । लेखा परीक्षण प्रतिवेदनले अनियमितता पुष्टि गरेपछि सहकारीका तर्फबाट पनि छानबिन समिति बनाइएको थियो । धनपालथान–४ का वडाध्यक्ष रोशन राजवंशीको नेतृत्वको समितिले पनि हिनामिनामा संलग्न भएको राजवंशीको दाबी छ ।
सविलालले १ करोड ११ लाख ६२ हजार र सह–लेखापाल राजकुमारले ७८ लाख १७ हजार चार सय २८ रूपैयाँ अनियमितता गरेको राजवंशीले बताए । लेखा परीक्षण प्रतिवेदन र छानबिनबाट अनियमितता भएको फेला परेपछि प्रहरीमा जाहेरी दिएको उनको भनाइ छ ।
सहकारी २०३५ सालदेखि सञ्चालित छ भने त्यसमा ५१० सदस्य आवद्ध छन् । सहकारीका अध्यक्ष गुलावचन मण्डल धनपालथान ३ का वडाध्यक्ष पनि छन् । सहकारीका जिल्ला प्रतिनिधि बासु रायका अनुसार मिलका लागि धान तथा गहुँ खरिद, बालुवा र गिट्टी ढुवानी तथा सनपाट खरिद एवम् बिक्रीका क्रममा हिनामिना गरेको पाइएको छ । साथै बचतकर्ताको रकमसमेत आफूखुसी चलाएर फिर्ता नगरेको उनको भनाइ छ ।