दमक,१२ भदौ । विषालु सर्प मानिने राज गोमन (किङ कोब्रा) सर्प पहिलो पटक झापामा भेटिएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–७, जरेवरस्थित स्थानीय रनबहादुर चेम्जोङको घरमा सर्प भेटिएको थियो ।
यसअघि झापामा राज गोमन सर्प भेटिएको थिएन । स्थानीय उद्धारकर्ता कृपेश कार्की, उद्धारकर्ता श्याम प्रधान र वीरेन्द्र तिवारीले सर्पलाई उद्धार गर्नु भएको हो । भेटिएको सर्पको तौल करिब ८ दशमलव ५ किलो र लम्बाई १२ दशमलव ५ फिट रहेको छ ।
जिल्ला वन कार्यालय भद्रपुरको समन्वयमा सर्पलाई बिर्तामोडको एक सामुदायिक वनको प्राकृतिक बासस्थानमा पुनःस्थापित गरिएको मेची वन्यजन्तु तथा चराचुरुङ्गी संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले बताँउनु भयो ।










