सुनसरी, १९ भदौ। सुनसरीको झुम्का कारागारमा बुधबार साँझमा एक जना कैदी बन्दीको मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको राजविराज–८ घर भई हाल झुम्का कारागारमा बन्दी रहेका ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको जेल प्रशासनले बताएको छ ।
यादवलाई ज्वरो आएपछि बुधबार साँझ ५ः३० बजे तिर सुनसरी जिल्ला अस्पताल इनरुवामा उपचारका लागि लगिएको थियो । अस्पताल भर्ना भएपछि श्वासप्रश्वासमा समस्या थपिएको र उपचारकै क्रममा यादवको मृत्यु भएको निम्ति जेलर राम निरौलाले जानकारी दिएका छन् । मृतक यादव जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए । झुम्का कारागारमा उच्च ज्वरोका ३ सय बढी बिरामी, सिकिस्त १३ जनामा उच्च ज्वरोका बिरामी भएकाले थप उपचार गर्न धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान लगिएको निरौलाले जानकारी दिए।
कारागारमा बिरामी भएकाहरूका लागि जिल्ला अस्पताल इनरुवा र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीलाई झिकाएर बुधबार मध्यरातसम्म स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । पछिल्लो एक साताको अवधिमा झुम्का कारागारमा ३ जनाको कैदी बन्दीको मृत्यु भई सकेको छ भने झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ गरी १ हजार ७ सय ९८ जना कैदी बन्दी रहेका छन् ।










