दमक, १९ भदौ । दमक नगरपालिका–२ र ३ मा फैलीएको रहेको सामुदायिक बन उपभोक्ता समूहका उपभोक्ताहरूले नयाँ व्यवस्थापन समिति गठनको माग गर्दै लिखित ध्यानाकर्षण गराएका छन्। समूहका सदस्यहरूले पुराना पदाधिकारीहरूको कार्यकाल समाप्त भए पनि अझै नयाँ समिति चयन नभएको भन्दै तत्काल निर्वाचन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्।
उपभोक्ताहरूका अनुसार सामुदायिक बनको प्रभावकारी व्यवस्थापन, संरक्षण र विकासका लागि सक्षम समिति आवश्यक छ। तर विगत केही वर्षयता निर्णय प्रक्रियामा ढिलासुस्ती भएको, बन उपयोग र संरक्षण सम्बन्धी गतिविधि कमजोर भएको, पारदर्शिता र जवाफदेहितामा प्रश्न उठेको आरोप लगाइएको छ। यसले गर्दा उपभोक्ताको विश्वासमा गिरावट आएको उल्लेख गरिएको छ।
२ सय ७८ जना उपभोक्ताहरुको हस्ताक्षर सहित बुझाइएको ज्ञापनपत्रमा उपभोक्ताहरूले ५० प्रतिशतभन्दा बढी उपभोक्ताको उपस्थितिमा समिति निर्वाचन गर्नुपर्ने प्रावधानलाई कार्यान्वयन गर्न दबाब दिएका छन्।
यसैअनुसार तत्काल निर्वाचन मिति तोकेर प्रक्रिया अघि बढाउन नसके आफूहरू संघर्षको कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।
दमक नगरपालिका कार्यालय र डिभिजनल वन कार्यालय, झापालाई समेत पत्राचार गरिएको छ। उपभोक्ताहरूले स्थानीय निकाय र सम्बन्धित निकायहरूले यसलाई गम्भीरताका साथ लिनुपर्ने माग गरिएको एक सदस्य प्रतिमा दाहालले जानकारी दिनुभयो ।










