भद्रपुर, २२ भदौ । कोशी प्रदेशका ४ सय ८७ सहकारी संस्था निष्क्रिय सूचीमा परेका छन् ।
प्रदेश सहकारी रजिष्टारको कार्यालयले हालै जारी गरेको सूचीअनुसार सबैभन्दा बढी झापाका सहकारी निष्क्रिय देखिएका छन् । झापामा १ सय ३१ वटा निष्क्रिय सहकारी छन् भने मोरङमा ६७, सुनसरीमा ६२ र इलाममा ४७ वटा सहकारी निष्क्रिय छन् । त्यस्तै उदयपुर र तेह्रथुममा २६–२६, ओखलढुङ्गा र पाँचथरमा २१–२१, खोटाङ, धनकुटा र भोजपुरमा १७–१७, संखुवासभामा १३, सोलुखुम्बुमा १२ र ताप्लेजुङमा १० सहकारी संस्था निष्क्रियको सूचीमा रहेका छन् ।
सहकारी संस्थाहरूको तथ्याङ्कलाई अद्यावधिक गर्न तथा निष्क्रिय सहकारीको दर्ता खारेजी गर्ने प्रयोजनका लागि प्रदेश सहकारी ऐन, २०७६ तथा सहकारी सङ्घ–संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षणसम्बन्धी मापदण्ड २०७८ अनुसार सूची सार्वजनिक गरिएको प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयले जनाएको छ ।
निष्क्रिय सूचीमा परेकाहरूको सम्पत्ति र दायित्व नरहेको पाइएमा प्रक्रिया पुर्याइ खारेजी प्रक्रिया अगाडि बढाउने कार्यालयका अनुगमन तथा लेखापरीक्षण शाखाका शाखा अधिकृत नगेन्द्र पराजुलीले बताउनुभयो । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयको नियमन क्षेत्राधिकारभित्र प्रदेशभरिका एक हजार ७५ सहकारी संस्था पर्छन् ।
प्रदेश सरकारी ऐन, २०७६ को दफा ६० (१) बमोजिम लगातार दुई वर्षसम्म विवरण नबुझाउने सहकारी संस्थालाई निष्क्रिय सूचीमा राखिएको हो ।









