दमक, २३ भदौ । झापाको दमकमा आज दिउँसो भएको जेन जि युवाको आन्दोलन हिंसात्मक रूप लिँदा प्रहरी र प्रदर्शनकारीबीच भीषण झडप भएको छ।
घटनामा दुवै पक्षका थुप्रै घाइते भएका छन् भने नगरपालिकाभित्र राखिएका सवारीसाधनमा समेत क्षति पुगेको छ।
सामाजिक सञ्जाल बन्दविरुद्ध सडकमा युवा
“Gen Z Protest Against Corruption, Corrupt Politicians, Social Media” भन्ने ब्यानरसहित Youth of Damak Jhapa ले आयोजना गरेको आन्दोलन बिहान करिब १०:३० बजेदेखि आकाशे पुल छेउमा सुरु भएको थियो। अनिश रिजाल सहित अन्य युवाहरूको नेतृत्वमा करिब सयौ युवाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध नाराबाजी गरेका थिए।
शुरुमा शान्तिपूर्ण देखिएको प्रदर्शन केही घण्टामै नियन्त्रणबाहिर गयो। नाराबाजी गर्दै नगरपालिका पुगेका युवाले गेटमै ढुङ्गामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त भएको हो।
प्रहरी घाइते, उपचार गर्न अस्पताल पुर्याइयो
ढुङ्गामुढाको क्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी महेश यादव गम्भीर घाइते भए। उनको नाकमा गहिरो चोट लागेपछि तत्काल लाइफलाइन अस्पतालमा भर्ना गरिएको थियो। अवस्था जटिल भएपछि थप उपचारका लागि विराटनगरस्थित बिराट नर्सिङ होम पठाइएको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरी प्रहरि जवान तेन्जिङ राई, प्रहरी निरीक्षक नविन राई, सहायक प्रहरी हवल्दार खेमराज बस्नेत र सहायक प्रहरी जवान प्रकाश सुनुवार पनि ढुङ्गा लागेर घाइते भएका छन्। उनीहरुको अवस्था भने सामान्य रहेको छ।
सर्वसाधारणतर्फ ११ जना घाइते
झडपमा सर्वसाधारण पनि घाइते भएका छन्।
कमल–५ का ३० वर्षीय प्रकाश भट्टराई (खुट्टा)
दमक–३ का २० वर्षीय भुपेन्द्र खड्का (अनुहार र घाँटी)
गौरिगञ्ज–१ का २० वर्षीय सागर हेमरम (अनुहार र छाती)
दमक–१ का १८ वर्षीय अभिषेक चेम्जोङ (अनुहार)
उर्लाबारी–४ का १९ वर्षीय प्रयुस चौहान (हात, खुट्टा र छाती)
लगायत ११ जना घाइते भएका छन्। घाइतेमध्ये केहीलाई धरान र बिर्तामोडका अस्पताल पठाइएको छ भने अधिकांशको दमककै विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सवारीसाधनमा क्षति
झडपका क्रममा नगरपालिकाको कम्पाउण्डभित्र पार्किङ गरिएका ट्राफिक प्रहरीले प्रयोग गर्ने मोटरसाइकलसहित चार वटा सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री ओलीको निवासतर्फ आन्दोलन
दिउँसो करिब ३:३० बजे आन्दोलनकारीको एक समूह प्रधानमन्त्री केपी शर्मा ओलीको निवासतर्फ पुगेको थियो। उनीहरुले ढुङ्गामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी भीडलाई करिब ५० मिटर टाढासम्म धपाएको हो। त्यसपछि स्थिति सामान्य बनेको रिपोर्ट जिल्ला प्रहरी कार्यालय झापाले सार्बजनिक गरेक छ ।









