दमक, २५ भदौ | देशभर जारी निषेधाज्ञा र असामान्य अवस्थाका कारण झापाका निजी तथा आवासीय विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको छ।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) झापा जिल्लाले आज एक सूचना जारी गर्दै अर्को आदेश नभएसम्म जिल्लाभरका सबै सदस्य विद्यालयमा पठनपाठन सञ्चालन नगर्न अनुरोध गरेको हो।
प्याब्सन झापाका कार्यबाहक अध्यक्ष हरीकृष्ण पाठक र सचिव लक्ष्मीराज उप्रेतीद्वारा हस्ताक्षरित सूचनामा शैक्षिक गतिविधि तत्कालै रोकिएको र परिस्थिती सामान्य भएसँगै मात्रै पुनः सुरु हुने उल्लेख गरिएको छ।
यसअघि प्रमुख जिल्ला अधिकारीले जारी गरेको कर्फ्यु आदेशसँगै शैक्षिक गतिविधि समेत प्रभावित भएका थिए। विद्यार्थी र अभिभावकलाई यो निर्णयले असुविधा भए पनि शान्ति, सुरक्षा र सुरक्षित शैक्षिक वातावरणलाई प्राथमिकतामा राखेर विद्यालयहरू बन्द गरिएको प्याब्सनले जनाएको छ।









