काठमाण्डौ,२६ भदौ। गएको सोमवारदेखि चलेको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगी सकेको छ । यसमध्ये तीन जना प्रहरी रहेका छन् । महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा ज्यान गएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभएको छ ।
यसैगरी निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १ जना, फ्रन्टलाइन अस्पतालमा ३ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ५ जनाको ज्यान गएको छ । अहिलेसम्म एक हजार ६१ जना घाइते भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार दुई सय ७४ जना घाइतेको उपचार भइरहेको छ भने सात सय १९ जना उपचारपछि घर फर्किसकेका छन् । आन्दोलनको क्रममा देशका विभिन्न कारागार बाट साढे १३ हजार कैदीबन्दी तथा तथा पाँच सय थुनुवा फरार भएको प्रहरीले जनाएको छ । फरार कैदीबन्दी तथा थुनुवालाई नियन्त्रणमा लिने काम भइरहको समेत प्रहरीले बताएको छ ।









