काठमाण्डौ ,२६ भदौ। काठमाण्डौ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाण्डौ उपत्यकासहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको छ ।
आन्दोलनरत ‘जेन–जी’ पुस्ताका प्रतिनिधिहरू वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छ भने विभिन्न सङ्घ–सङ्गठनहरूले समस्याको समाधान निकाल्न आह्वान गरि रहेका छन् ।
जेनजीका प्रतिनिधिहरू सडकमा सरसफाइ अभियानमा निस्किएको देखिएको छ । आगजनी गरिएका कार्यालयका कर्मचारीहरू पनि ससरफाइ, कागजात सङ्कलन, क्षति भएको संरचना व्यवस्थापन र निर्माणमा पनि सक्रिय भएर लागि रहेका छन् । कर्मचारीहरूले कार्यालय सञ्चालनका लागि आवश्यक कामहरू गरिरहेका छन् ।
सेनाले पनि निषेधाज्ञा तथा कफ्र्यु आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिइरहेको छ । आज बिहान ६ देखि १० बजेसम्म आवतजावत र खाद्यान्न खरिदका लागि सहजीकरण गरिएको छ भने आज बेलुकी ५ बजे देखि ७ बज सम्मका लागि पनि खुला गरिएको छ । सेनाको सूचना अनुसार अहिले बिहान १० बजेदेखि शुरू भएको निषेधाज्ञा बेलुकी ५ बजेसम्म लागू हुने बताएको छ । यस्तै कफ्र्यु आज बेलुकी ७ बजे देखि भोलि बिहान ६ बजेसम्मका लागि जारी गरिएको जनाएको छ ।
काठमाण्डौ उपत्यकामा अत्यावश्यक कामका लागि हिँडडुलमा कुनै समस्या देखिएको छैन । तर अनावश्यक रूपमा हिँड्ने तथा भेला हुने कार्यलाई पूर्णरूपमा निषेध गरिएको जनाएको छ ।
काठमाण्डौ उपत्यकामा आवश्यक सहायताका लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न अनुरोध पनि गरिएको जनाएको छ ।









