काठमाडौं,२८ भदौ। नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले युवाहरुले नै बनाएको हुनाले युवाहरुले नै नेतृत्त गर्दै आएको बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत शनिबार एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले एमाले नयाँ र युवा मैत्री, जनमुखी, प्रगतिशिल बनाउन संरचनागत सुधार गर्ने बताउनु भएको छ ।
‘हाम्रो पार्टीमा पुरानो पुस्ता छ। बिचको पुस्ता छ। युवा पुस्ता छ।’उहाँले भन्नु भयो, ‘हाम्रो पार्टीमा जेन्जी पुस्ता किन आइरहेको छैन। उनीहरुको र हाम्रो पार्टीका कडि किन टुटिरहेको छ। यसको गम्भीर समीक्षा गर्नेछौं। हाम्रो पार्टीको नीति, नेतृत्व आगामी दिनमा युवा मैत्री बनाउने छौं।’
एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने बताउँदै उहाँले युवाहरुलाई एमालेप्रति विश्वास गर्न सबैलाई आग्रह गर्नु भएको छ । भट्टराईले भदौ २३ र २४ गतेको घटनाको व्यापक छानविन गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गर्नु भएको छ ।
भट्टराईले नेपाल एक पटक फेरि संक्रमणकालमा प्रवेश गरेको बताउँदै संसद विघटन संक्रमण निधानको सही बाटो नभएको उल्लेख गर्नु भएको छ ।उहाँले संक्रमणको निराकरण संवैधानिक प्रक्रियाबाट हुनुपर्ने बताउनु भयो । ‘जेनजीहरुका मागलाई संवैधानिक प्रक्रियाबाटै, संसदबाटै पूरा गर्न सकिन्थ्यो। राष्ट्रपतिले अहिले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ उहाँलाई संसदबाट पनि प्रधानमन्त्री बनाउन सकिन्थ्यो’ भट्टराईले भिडियो सन्देशमा भनेका छन् ‘तर त्यता जान खोजिएन। संसदलाई विघटन गरिएको छ। यो सही निकास होइन।’
संविधान परिपालना नगर्दा यसको खारेजीको जोखिम हुने उहाँको भनाइ छ। ‘संविधानलाई लिकमा फर्काउन,लोकतान्त्रिक प्रक्रियालाई लिकमा फर्काउन सजिलो छैन’ भट्टराईले भन्नु भयो,‘आगामी दिनमा संविधान र लोकतन्त्रलाई लिकमा फर्काउन धैर्यतापूवर्क अघि बढ्नुको विकल्प छैन। प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्न चाहन्छौं तपाईंहरुका हरेक कदम संवैधानिक होउन। हामी समर्थन गर्छौं।’
सचिव भट्टराईले भ्रष्टाचार,कुशासन र बेथिती समाजको नकारात्मक पाटो भएकोले यसको अन्त्य हुनुपर्ने बताउनु भयो । एमालेले भौतिक संरचना निर्माणमा ठूलो उपलब्धी हासिल गरेको स्मरण गराउदै भट्टराईले भ्रष्टाचार नियन्त्रणका लागि जति प्रयत्न गर्नुपथ्र्यो त्यती गर्न नसकिएको स्वीकार बताँउनु भयो,‘जनताका आवाज,युवा पुस्ताको आवाजलाई ठिक ढंगले सम्बोधन गर्ने कुरामा हामी कतै चुक्यौं। ति कमिकमजोरीप्रति हामी आत्मालोचना गर्दछौं ’ भट्टराईले भन्नु भयो,‘यस कमजोरीका लागि जनतासँग माफी माग्दछौं। किनकि एउटा राजनीतिक दल जनताबिना बाँच्न सक्दैन। जनता हाम्रा आधार स्तम्भ हो। ’
भट्टराईले एमालेलाई गतिशिल बनाउन युवाहरुको आवश्यकता औल्याए। पार्टी संकटका बेला यो कारण वा त्यो कारण देखाएर पार्टी छोड्ने प्रवृति राम्रो नभएको बताउँदै विचलित नहुुन उनले आह्वान गर्नु भयो ।









