काठमाडौँ,२९ भदौ । गत सोमबार र मंगलबार भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणका काम अनिश्चितकालका लागि बन्द भएको जनाएको छ।
यातायात व्यवस्था विभागले आइतबार सेवा अवरुद्ध भएको सूचना जारी गरेको हो। अर्को सूचना जारी नभएसम्मका लागि सवारीचालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली तथा सेवा बन्द रहने विभागले जारी गरेको सूचनामा उल्लेख गरीएको छ।
विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरी÷लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा सर्भरमा क्षति पुग्न गएकाले सवारीचालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्ता तथा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विभागले जनाएको छ ।
यसैबीच विभागले जेनजी प्रदर्शनको क्रममा लुटपाट भएका सामग्री भेटेमा बुझाइदिन पनि सबैलाई अनुरोध गरेको छ।
कसैले यातायात विभाग, जि.खा.पा.नं. उल्लेख गरिएका सामान देखे, भेटाए, पाए कार्यालयका कर्मचारी वा नजिकको सुरक्षा निकायमा जानकारी दिई सार्वजनिक सम्पत्तिको संरक्षण अभियानमा सहयोग गर्न विभागले अनुरोध समेत गरेको छ । विभागका कम्प्युटर इन्जिनियर भानुभक्त जोशीका अनुसार विभागको सवारीसाधन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्मार्ट टि.भी., छपाइ मेसिन, छपाइ भएका सवारीचालक अनुमतिपत्र (स्मार्ट कार्ड), सर्भरमा प्रयोग हुने हार्डडिस्कलगायतका सामान चोरी÷लुटपाट भएको जनाएको छ।











