विराटनगर,३० भदौ । विराटनगर स्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा शव फेला परेको छ । सोमबार दिउँसो भाटभटेनीको दोस्रो तल्लामा पूर्ण रुपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार, हालै देशव्यापी रुपमा चर्किएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले भाटभटेनीमा आगजनी गरेका थिए । सोही क्रममा लुटपाट गर्न सुपरमार्केट भित्र पसेका व्यक्तिको जलेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपीला चुडालले घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारेको जानकारी दिइनु भयो । ‘शव पूर्ण रुपमा जलेको अवस्थामा छ, पहिचान गर्न कठिन छ,’ उहाँले भन्नु भयो,‘हामीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएका छौं र घटनाको थप अनुसन्धान गरिरहेका छौं ।’
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको जेनजी आन्दोलनले २४ गते उग्ररुप लिएपछि कोशी प्रदेशका विभिन्न स्थानमा रहेका भाटभटेनीका शाखाहरुमा तोडफोड र आगजनी भएको थियो । विराटनगरको भाटभटेनीमा प्रदर्शनकारीको एक समूहले एटिएम तोडफोड गर्ने प्रयास असफल भएपछि आगजनी गरेको जानकारी पाइएको छ ।
ऋागजनि पछि लुटपाट भएको थियो । आगोले सुपरमार्केट पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगजनीकै क्रममा अन्य व्यक्तिहरु पनि हराइ रहेको हुनसक्ने आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको बताएको छ ।









