हेटौँडा,३१ भदौ। मकवानपुर र बाराको सिमानामा पर्ने हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई स्थित पूर्व–पश्चिम राजमार्गमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो २ः५० बजेको समयमा नं. २ राजदल गण तनहुँबाट धनुषा तर्फ उप सेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा जाँदै गरेको सैनिक टोलीको ट्रक दुर्घटना भएको हो।
सँगै जाँदै गरेका चार वटा ट्रक मध्ये लु ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको मकवानपुर प्रहरीले बताएको छ। प्रहरीका अनुसार सो ट्रकमा २२ जना सेना सवार थिए।
सडक सिमानामा रहेको पुलबाट करिब १०÷१२ फिट तल खोल्सामा खस्दा १६ जना घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जनाकारी दिनु भयो। उहाँका अनुसार तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र अरु सामान्य घाइते भएका छन्।
घटना पछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक अर्यालको कमाण्डमा टोली खटिएको थियो। नेपाली सेनाकै सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल पठाइएको प्रहरीले बताएको छ।









