ताप्लेजुङ,१ असोज । अविरल वर्षाका कारण ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विभिन्न वडाका ११ घर विस्थापित भएका छन भने १२ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन्।
स्थानीय विपद् व्यवस्थापन समितिको स्थलगत निरीक्षण अनुसार वडा नम्बर २, ४, ५ र ६ सबैभन्दा बढी प्रभावित भएको छ । वडा नम्बर २ मा २ घर विस्थापित भएका छनभने वडा नम्बर ४ मा ५ घर उच्च जोखिममा परेको जानकारी पाइएको छ । वडा नम्बर ५ मा १ घर विस्थापित हुनुका साथै सात घर उच्च जोखिममा परेका छन् ।
वडा नम्बर ६ मा ८ घर विस्थापित भएका छनभने केही दिनअघि एक घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु हुनुका साथै तनि जना घाइते भएको जानकारी पाइएको छ । घाइतेहरूको उपचार भइरहेको बताइएको छ।
भौतिक संरचनातर्फ पनि क्षति पुगेको पाइएको छ। वडा नम्बर ४ को एकबासे सडक पूर्ण रूपमा बगाएको छ भने वडा नम्बर ४ र ५ जोड्ने याङ्देली झोलुङ्गे पुल जाने बाटोको भाग पहिरोले बगाएको छ।
वडा नम्बर ५ को महादेवथान–कामसाङ क्षेत्रको सडक अवरुद्ध भएको छ भने वडा नम्बर ५ र ६ जोड्ने चिम्फाक–रानीवन सडक, रानीवन–साङलुप्पा सडक, रानीवन–साम्तोङ सडक, ओर्खुम–जैवा सडक र फाकुम्बा–यदे सडक बाढी र पहिरोले बगाएर पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै, तिर्तिरे–खार्ते सडकखण्डको अयाक्मा जङगल क्षेत्रमा निर्माण गरिएको ग्याबिन र सोलिङ समेत बगाएको छ।
दसैँ, तिहारजस्ता प्रमुख पर्व नजिकिँदै गर्दा बाढी, पहिरोले ल्याएको विपत्तिका कारण जनजीवन कष्टकर बनेको गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले बताउनु भयो ।
प्रभावित परिवारहरू विस्थापित भएर असुरक्षित अवस्थामा दिन काट्न बाध्य भएका छन्। अझै वर्षा रोकिने सम्भावना नदेखिएकाले थप जोखिम बढ्न सक्ने अनुमान गरिएको छ। यसबीच गाउँपालिका अध्यक्ष वनेमले सतर्क रहन सबैलाई आग्रह गर्नु भएको छ ।









