सुनसरी,२ असोज । पूर्व–पश्चिम राजमार्ग स्थित सुनसरीको कोसी गाउँपालिका–१ को खुनिया पुल नजिकै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान भएको सो सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डीएसपी योगराज खतिवडाले जानकारी दिनु भयो ।
मृत्यु हुनेमा एक जना महिला र अर्का एक पुरुष रहेका छन् । उनीहरुका पहिचान खुल्न नसकेको खतिवडाले जानकारी दिनु भयो । मृतक पुरुषको जिल्ला अस्पताल इनरुवा सुनसरीमा र महिलाको न्युरो कार्डियो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. १–०२–००२ ख ०९४९ नम्बरको यात्रु बाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको हो ।
दुर्घटनामा घाइते हुनेहरूमा सप्तरी रुपनी–९ का २५ वर्षीय प्रकाश सरदार, उनकी श्रीमती वर्ष ३० वर्षीया पुनम सरदार, सप्तरीको खड्क नगरपालिका–५ का ५० वर्षीया ज्ञानदेवी चौधरी, सिरहाको धनगढी माई नगरपालिका–३ बस्ने ५२ वर्षीया बानेश्वरी देवी चौधरी सोही ठाउँका ३५ वर्षीया केसीदेवी चौधरी रहेका छन् ।
यसै गरी सिरहा धनगढी माई नगरपालिका १ बस्ने वर्ष ५५ की शान्तिदेवी चौधरी, सप्तरी खड्क नगरपालिका बस्ने वर्ष ४० को दिनेशकुमार चौधरी उनकी श्रीमती वर्ष छैतीस की चन्द्रिका चौधरीको, लहान नगरपालिका १ बस्ने वर्ष ५० प्रभानन्द चौधरी र सप्तरी सुरुङगा नगरपालिका ९ बस्ने वर्ष ३६ को पुरुषोत्तम चौधरी पनि घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरू सबैको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको डिएसपी खतिवडाले जानकारी दिनु भयो ।









