काठमाण्डौ,५ असोज। वर्षाका कारण विभिन्न ठाउँका सडकहरू अवरुद्ध भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–५ तुईन खोलामा अस्ति शुक्रवारदेखि पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड पनि पूर्णरूपमा बन्द भएको जानकारी पाइएको छ ।
वर्षाका कारण कोशी राजमार्ग अन्तर्गत पर्ने सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ बरुण मा जेठ ६ गतेदेखि अवरुद्ध सडक अझै खुलेको छैन भने र सङ्खुवासभाकै मकालु गाउँपालिका–३ एकुवामा गएको भदौ १५ गतेदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ दोलालघाटमा भदौ ९ गतेको पहिरोले गर्दा अरनिको राजमार्ग अन्तर्गत दोलालघाट खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । अस्तिदेखि नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका २ को विश्वकर्मा मन्दिर क्षेत्र र पैसठ्ठी मोड नजिक लगातारको वर्षा र पहिरोले पूर्व–पश्चिम राजमार्ग एक तर्फी सञ्चालनमा आएको छ ।
आइतबार बिहानदेखि म्याग्दीकोे बेनी नगरपालिका ४ घुमाउने भिरमा पहिरोले बेनी–दरबाङ सडक पूर्णरूपमा अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका ११ भिरकुनामा पनि पहिरोले बिहानैदेखि जाजरकोट–डोल्पा सडक पूर्णरूपमा अवरुद्ध छ ।









