काठमाडौं,५ असोज। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नु भएको छ।
प्रधानमन्त्री निकट स्रोतले मन्त्रिपरिषद्मा जानेहरूको नाममा सहमति नजिक पुगिएको जनाउँदै आइतबार वा सोमबार सम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताएको छ।
जेन–जीका प्रतिनिधिले आफ्नो तर्फबाट मन्त्रीका लागि प्रस्तावित नामहरू पठाइसकेको बताएका छन्। अब अन्तिम निर्णय प्रधानमन्त्रीले नै गर्ने स्रोतको भनाइ छ।
सरकारलाई समावेशी तथा जेन–जीको प्रतिनिधिमूलक बनाउने प्रयास स्वरूप मन्त्रिपरिषद् विस्तारमा केही ढिला भए पनि सोमबार सम्ममा सरकारले पूर्णता पाउने प्रधानमन्त्रीको सचिवालयको दाबी रहेको छ।
गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त हुनु भएको कार्कीले सोमबार रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्नु भएको थियो । कार्कीले विभिन्न पेशा, व्यवसायमा आबद्ध ब्यक्तिहरूसँग छलफल गर्नु भए पनि जेन–जीका प्रतिनिधिसँग सहमति हुन नसक्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ हुँदै आएको छ।









