काठमाण्डौं,५ असोज । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ‘युनिटी कप’ टी–२० सिरिज माथि मडारिएको अनिश्चितताको बादल हटेको छ। भिसा प्रक्रियामा रोक लागे पछि सङ्कटमा परेको सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा प्राप्त गरेको छ।भिसा सुनिश्चित भएसँगै नेपाली टोली सोमबार यूएई प्रस्थान गर्ने निश्चित भएको छ।
यसअघि, नेपालमा भएको ‘जेन–जी’ आन्दोलन र त्यस क्रममा कारागारबाट करिब १३ हजार कैदी भागेको घटनापछि यूएई सरकारले नेपाली नागरिकका लागि सबै प्रकारका भिसामा अस्थायी रोक लगाएको थियो। यसको प्रत्यक्ष असर नेपाली क्रिकेट टोलीको यूएई भ्रमणमा परेको थियो, जसका कारण आइतबार विहानसम्म पनि सिरिज नै हुने वा नहुने भन्नेमा शङ्का उत्पन्न भएको थियो।
नेपालले यही सेप्टेम्बर २७, २९ र ३० तारिखमा यूएईको प्रतिष्ठित शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजविरुद्ध ३ खेलको टी–२० सिरिज खेल्ने तालिका रहेको छ।









