काठमाडौं,५ असोज । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्नु भएको छ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर विपिनकी आमा पद्मा र बहिनी पुष्पाले भेट गर्नु भएको छ। भेटका क्रममा प्रधानमन्त्री कार्कीसँग विपिनकी आमा पद्माले छोराको शिघ्र रिहाइका आवश्यक कुटनीतिक पहल गरिदिन आग्रह गर्नु भएको छ। बहिनी पुष्पाले पनि आफ्नो दाई निर्दोष रहेको उल्लेख गर्दै उहाँलाई यथाशिघ्र फिर्ता बोलाई सहयोग गरिदिन अनुरोध गर्नु भएको छ ।
जवाफमा प्रधानमनत्री कार्कीले विपिनको रिहाइको लागि कुनै कसर बाँकी नछोड्ने प्रतिबद्धता दिएको बताउनु भयो। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हमाससँग नजिक रहेका राष्ट्रहरुसँग कुरा गरेर विपिनको रिहाईको लागि हरसम्भव प्रयास गर्ने वचन दिएको उहाँले बताँउनु भयो । प्रधानमन्त्री कार्कीको पहलमा दाई घर फर्किनेमा आफू विश्वस्त रहेको बहिनी पुष्पाले बताउनु भयो। जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजराइल पुग्नु भएको थियो।









