काठमाडौँ,१० असोज । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सुरुवात गरेको जनाएको छ । शुक्रबारबाट मन्त्रालयको कार्यालय व्यवस्थापन प्रणालीबाट फाइल स्वीकृत गर्ने प्रक्रिया अर्थमन्त्री रामेश्वर खनालले शुभारम्भ गर्नु भएको हो।
सरकारी निकायबाट सम्पादन हुने कार्यहरूलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रूपमा सम्पादन गरी कागजरहित बनाउने योजनाअनुरूप उक्त प्रणाली सुरुवात गरेको अर्थमन्त्री खनालले जानकारी दिनु भयो।
सरकारको अवधारणालाई कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयमा समेत अनिवार्य गरिएको मन्त्रालयले बताएको छ ।
उक्त एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग गरी विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठी पत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य अनिवार्य रूपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नुपर्ने गरी व्यवस्था गरिएको जनाएको छ ।
यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा शीघ्रता, खर्चमा मितव्ययिता, कार्य प्रक्रियामा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको जनाएको छ ।









