पथरी, १२ असोज / काठमाडौंको मण्डला थिएटरमा टिकटमा लगातार २८ वटा शो भएपछि ‘उर्फ दारासिंह’ नाटक नाट्य कथाको भूगोल क्षेत्र अर्थात पूर्वको कमल गाउँपालिकामा मञ्चन भइरहेको छ ।
मुन क्रियसनको सहकार्यमा चुलाचुली रंगमञ्च इलामको प्रस्तुति नाटक असोज २ गतेबाट ११ गतेसम्मका लागि तोकिएको प्रदर्शन मिति दर्शकको माग अनुरुप १३ गतेसम्मलाई थप गरिएको छ । दमकको रतुवा पुल पूर्वको रिभर भ्यू हेरिटेज रिसोर्टमा पूर्वकै एउटा सुनिदै आएको पात्रको विषयमा मञ्चन भइरहेको छ ।
यस नाटकको बास्तविक मुख्य पात्र कर्ण बहादुर केरुङ उर्फ दारासिङलाई राज्यले नकारात्मक पात्रका रुपमा प्रस्तुत गरेर २०३७ साल माघ १ गते माइमेलामा मारिएको प्रसंग नाटकले अघिसारेको छ ।

सुमन लिंदेनको लेखन र चेतन आङ्थुपोको निर्देशनमा तयार नाटकमा तत्कालिन पञ्चायत सरकारले ल्याएको भूमि व्यवस्थापनको योजनामा झोडा जमिन सट्टाभर्ना जस्ता राजनैतिक कोपभाजनमा परेर २०३७ सालमा दारासिङ मारिएको विषय छ । भूमि संरक्षणका लागि दारासिङ गरेको संघर्ष र योगदानलाई नाटकमा कलात्मक शैलीमा तयार पारिएको छ ।
पञ्चायत सरकारको समयमा नेपालको पूर्वी जिल्लाहरूमा भूमि फँडानी गर्न आएका भूपू सैनिहरूको संरक्षकको क्रममा दारासिङले गरेको काम, भोगेका समस्यालाई नाटकमा प्रस्तुत गरिएको छ ।
दारासिहलाई समाजमा खुङ्खार र डरलाग्दो मानिएको पात्रका रुपमा मात्र चित्रित गरिएको थियो । इतिहासले लुकाएको/नभनेको प्रेरणाको श्रोत दारासिंह रहेको भन्ने पक्ष उजागर गरिएको छ ।
दर्शकहरुको भिडभाडका साथ नाटक प्रदर्शन भइरहेको छ । नाटकका दर्शकका रुपमा सहभागि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य सुमित्रा बाङ्देल चेलीेले त्यसबेलकाको शासकले नकारात्मक रुपमा उभ्याएको पात्र दारासिंहको अन्यास विरुद्धको सकारात्मक कार्य नाटकले उजागर गरेको बताउनु भयो ।

दैनिक २ शोमा नाटक मञ्चन भइरहेको छ । सत्य इतिहास उजागर गर्दै आफ्नै परिवेशका घटनामा नाटक मञ्चन गर्ने योजनामा आफू पनि समाहित भएको यसको व्यवस्थापन पक्ष हेर्दै आएको मुन क्रियशनका अगुवा तथा नाटकका संयोजक पुराना रंगकर्मी विनयकुमार (विक्रम) फागो वनेमले जनाउनु भयो । चुलाचुली रंगमञ्चले नाटकमार्फत ग्रामिण सौन्दर्य उजागर गर्दै समाज रुपमान्तरणमा कलाको भूमिका गजबसंग प्रष्ट्याउँदै आएको छ ।









