पथरी, १३ असोज / वडादसैं अर्थात् नवरात्रको सातौं दिन सोमबार मोरङको पथरी शनिश्चरेमा पनि हर्षबढाईंकासाथ फूलपाती भित्र्याउने काम भएको छ ।
स्थानीय सुरक्षाकर्मीको सलामीबीच शान्ति किर्तन मण्डली, दुर्गा मन्दिर समिति, नौमति बाजा महिला समूहसहितको सहभागितामा वडा नम्बर १ स्थित भुल्के जालपादेवी मन्दिरबाट फूलपाती लगिएको छ । नौमति बाजा, भजनकिर्तनसहितको सांस्कृतिक प्रस्तुतिसहित सो मन्दिरबाट परम्परागतरुपमा फूलपात्री लाने काम वर्षेनी हुँदै आएको मन्दिर समिति अध्यक्ष यमुना विष्ट बास्तोलाले जनाउनु भयो । भुल्के जालपादेवी मन्दिर नगर क्षेत्रको प्रमुख आस्थाको केन्द्रका रुपमा लिइँदै आइएको छ ।
दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना देशभर गरिएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहँदै आएको छ । प्राणीलाई नष्ट गर्ने काललाई पनि भगवती देवीले नष्ट गरिदिने भन्ने मान्यता पाइन्छ ।









