काठमाडौं,१५ असोज । नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न विदेशमा रहेका नेपालीहरूलाई अनुरोध गरिएको जनाएको छ।
विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूले विदेशमा रहेका नेपालीलाई कोषमा सहयोग गर्नु अनुरोध समेत गरेका हुन्। भदौ२३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत, प्रहरी चौकी लगायतका सरकारी संरचनामा आगजनी तथा तोडफोड गरिएको थियो। धेरै सरकारी कार्यालयहरू जलेर पुर्णरूपमा ध्वस्त समेत भएका छन्।
भौतिक पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण गर्न ५ असोजमा बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरेको हो । सोही अनुसार पुनर्निर्माणका लागि सरकारले पुनर्निर्माण कोष खडा गरेको हो। अर्थ मन्त्रालयले भौतिक क्षतिको पुनर्निर्माण गर्न उक्त कोषमा सहयोग गर्न स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई अनुरोध समेत गरेको छ । सोही अनुसार विदेशस्थित नेपाली नियोग तथा दूतावासहरूले कोषमा सहयोग गर्न नेपालीहरूलाई अनुरोध गरेका छन्।
कतारस्थित नेपाली राजदूतावासले एक सुचना जारी गर्दै कोषमा सहयोग गर्न अनुरोध गरेको छ। जेनजी आन्दोलनका क्रममा देशका अधिकांश स्थानहरूमा क्षति पुगेका र भौतिक पूर्वाधारहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि सरकारले कोष स्थापना गरेको भन्दै त्यसमा सहयोग गर्न अनुरोध गरेको हो। कतार तथा इरानमा रहेका नेपाली तथा गैर आवासीय नेपालीलाई आफ्नो तर्फबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन अनुरोध गरेको छ। कुवेतस्थित नेपाली राजदूतावासले समेत सामाजिक संजाल फेसबुकमार्फत कोषमा सहयोग गर्न अनुरोध समेत गरेको छ।
नेपाली राजदूतावास इजरायलले समेत कोषमा सहयोग गर्न अनुरोध गरेको छ। दूतावासले इजरायल र साइप्रसमा रहेका नेपालीहरूलाई सहयोग गर्न अनुरोध समेत गरेको हो। आफ्नो तर्फबाट सहयोग गरि राष्ट्रको पुनर्निर्माणको महाअभियानमा सहभागी हुन दुतावासको अनुरोध रहेको छ। विदेशमा रहेका नेपालीहरूले समेत कोषमा सहयोगार्थ विभिन्न कार्यक्रमको आयोजना गर्न थालेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मातृभूमि प्रतिको दायित्व र कर्तव्य भएको बताउँदै कोषमा सहयोग गर्न अनुरोध समेत गरेको छ।









