दमक, १६ असोज | झापाको बिर्तामोड नगरपालिका–६ गिरि बन्धु टी–स्टेट अगाडि आज बिहान यात्रुबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
विराटनगरबाट काकडभिट्टा जाँदै गरेको सगरमाथा यातायातको बस बिहान करिब साढे ९ बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घटनापछि बस चालक फरार छन्।
मृतकमा सुनसरी इटहरीका ४६ वर्षीय दिनेश कुमार भट्टराई र मोरङ रंगेलीका ४२ वर्षीय बस कन्टेक्टर राजकुमार चौधरी रहेका छन्।
दुर्घटनामा गुलशन राज शर्मा परिवारसहित, पाँचथरकी गंगा लिम्बु, झापाका लोजिहाङ लावती, सुहाना लिम्बु, मोरङकी अनुषा भट्टराई, राधिका खतिवडालगायत १३ जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उद्धार गरी घाइते र मृतकलाई बि एण्ड सि अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









