काठमाडौं,२० असोज । नेकपा माओवादी केन्द्रले घोषित मितिमा निर्वाचन गर्न पार्टीका तर्फबाट सकारात्मक भूमिका खेल्ने निर्णय गरेको जनाएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले घोषित मितिमा निर्वाचन गर्न सकारात्मक भूमिका खेल्न र त्यसका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनु भयो।
निर्वाचनमा जाने विषयमा सबै दलहरूको सहमति रहेको र माओवादीको पनि चुनावमा नै जोड रहेको उहाँको भनाइ छ। उहाँले निर्वाचनले मात्रै संविधान र व्यवस्थालाई जोगाउने भएकाले निर्वाचन गर्ने कुरालाई पार्टीले मुख्य प्राथमिकतामा राखेको उल्लेख गर्नु भयो
बैठकमा समाजवादी मोर्चा विस्तार र एजेण्डा मिल्नेहरूसँग पार्टी एकताको विषयमा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले जानकारी गराँउनु भएको थियो। पार्टी एकताको सम्बन्धमा बृहत् र सकारात्मक छलफल भइरहेको प्रवक्ता सापकोटाले बताउनु भयो।
त्यस्तै बैठकले राहत उद्धारमा संलग्न पार्टीका सबै पंक्तिलाई धन्यवाद दिँदै राहत पुनर्निर्माणमा लाग्न आह्वान गरिएको उहाँले बताउनु भयो। माओवादी महाधिवेशन आयोजक समितिको सचिवालय बैठक दुई दिनपछि पुनः बस्ने र विशेष महाधिवेशनलगायत पार्टीको आन्तरिक विषयमा छलफल हुने माओवादीले बताएको छ।









