पथरी, २६ असोज / हाम्रो फाउण्डेशन परिवार, पथरी शनिश्चरेले मोरङको पथरी शनिश्चरे वडा नं १ को वडा कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर सहयोग उपलब्ध गराएको छ ।
“शिक्षा र परोपकार , हाम्रो सरोकार“ भन्ने मूल नाराका साथ फाउण्डेसनले वडा कार्यालयलाई कार्यालय सञ्चालन सहज बनाउने उद्देश्यले १ थान अफिस दराज, ३ थान अफिस टेबल, २८ स्थान प्लास्टिक कुर्सी,३ थान आधुनिक कुर्सी, ४ थान थ्री सिटर चेयर, दुई थान वाल फेन, एक थान स्टेन ह्याङ्गरलगायतका सामानहरु वितरण गरिएको हो । प्रमुख अतिथि विदुषी हेमानन्द गिरीले सामग्री हस्तान्तरण गर्दै जेन्जी नामको आँधीहुरी (आन्दोलन) ले वडालाई पनि तहसनहस बनाएको अवस्थामा देश विदेशमा रहनुहुने दानवीर नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले हाम्रो फाउन्डेसनको नामबाट सहयोग उपलब्ध गराउनु भएकोमा आभार व्यक्त गर्नुभयो ।
हाम्रो फाउन्डेसनका संयोजक प्रदिपकुमार राईले गत भदौ २३/२४ गते एक किसिमको आँधिबेहरी आएर नेपालका सबै राष्ट्रिय भौतिक तथा प्रशासनिक संरचनाहरू ध्वस्त भएको परिवेशमा वडा कार्यालय लगायतका संरचनाहरू पनि तोडफोड तथा आगजनी भएकाले हाम्रो फाउन्डेसनले सहयोग गर्नु आवश्यक लागेर सहयोग गरिएको प्रसंग अघि सार्नुभयो । उहाँले दशैं र तिहारमा गरिने खर्चलाई कटौती गरेर देशविदेशमा रहनुहुने दाजुभाई दिदीबहिनीहरुले वडा कार्यालयलाई आवश्यक पर्ने फर्निचर लगायतका सामग्रीहरु प्रदान गरिएको जानकारी दिनुभयो ।
यस्तो विध्वंशकारी घटनाहरू पुनः यो पुस्ता वा आगामी पुस्ताले भोग्नु नपरोस् भन्दै आज जसरी विभिन्न संघ–संस्था, व्यक्तित्व र सामाजिक व्यक्तित्वहरूले सहयोग गरिरहनु भएकोप्रति धन्यवाद व्यक्त गर्नुभयो । त्यसैगरी आगामी दिनहरुमा पनि उर्जाका साथ सहयोग गरिदिनुहुन अनुरोध गर्दै वडाका जनप्रतिनिधिहरुले जनमुखी कार्यहरू गर्न आफूहरू प्रतिबद्ध रहेको प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
सो कार्यालयबाट नगद २ लाखभन्दा बढी रकम सहित अति नै आवश्यक फर्निचर, टेबल, कागजात,ल्यापटप, प्रिन्टर, लगायतका थुप्रै सामग्रीहरु नष्ट भएको थियो ।
सो अवसरमा पथरी शनिश्चरे नगरपालिकाका पूर्व नगर प्रमुख दिलीपकुमार राई, कार्यपालिका सदस्य वीरध्वज शिवा, वडाध्यक्ष भीमकुमार राई, वडा सदस्यहरु सुरेश कार्की, बसुन्धरा गुरुङ, आरती विक, आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली ,पथरी शनिश्चरे नगरपालिकाका शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलमणि गुरुङ, वडा सचिव मित्रकला चापागाईं, पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विक लगायत विभिन्न संघ–संस्था तथा सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।









