धरान,१० पुस। सुनसरीको धरानमा बिहीबार बिहान कारभित्र १ सय ८० किलो गाँजा फेला परेको प्रहरीले जनाइको छ ।
धरान उपमहानगरपालिका–६ पानबारीमा बेवारिसे अवस्थामा रहेको बा १३ च ३६८४ नम्बरको कारभित्र गाँजा भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको गस्ती टोलीले बिहान ४ः३० बजेतिर गाँजा फेला पारेर बरामद गरेको हो ।
गाँजा लोड गरिएको कार बेवारिसे अवस्थामा थियो । गाँजासहित कारलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । कार कसको हो र गाँजा कसले ल्याएको भनेर यकिन भइसकेको छैन । प्रहरीलाई देख्नसाथ कार छाडेर चालक फरार भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।










