काठमाडौँ,१० पुस । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको छ।
छलफल बालेनका सहयोगी कुमार बेनको ललितपुरस्थित निवासमा चलिरहेको छ । भित्र दुई रवि र बालेन शाहबिच छलफल चलिरहँदा बाहिर भने जेनजी अभियन्ता सुदन गुरुङ रहनु भएको छ् । उहाँले आफू सहमतिका लागि दबाब दिन छलफल स्थलमा आएको बताउनु भयो ।
यतिमात्रै होइन उहाँले आफैँले सामाजिक सञ्जालमार्फत छलफलका लागि दबाब दिन आफूले घरको गेटमा ताला लगाइदिएको बताउनु भएको छ । सहमति नगरेसम्म बालेन र रविलाई बाहिर निस्कन नदिने उहाँको भनाइ छ ।
उहाँले एक भिडियो समेत जारी गर्दै सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘सम्झौता नहुँदासम्म हामी रवि लामिछाने र बालेन शाहलाई बाहिर जान दिने छैनौं !’
उहाँले भिडियोमा भन्नु भएको छ, ‘जबसम्म दुई जना मिल्नु हुँदैन तबसम्म यो गेट खोलिँदैन । हामीले गेटमा ताला लगाएर राखेका छौँ । हामी यहाँ गार्ड छौँ, यहाँबाट कोही पनि भित्र छिर्दैन कोही पनि बाहिर निस्कँदैन । कुरा नमिलेसम्म यत्तिकै हो ।’









