काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको विवाद मिलाउन आफू लागिरहेको बताउनु भएको छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्यहरूको युवा टोलीसँगको भेटमा उहाँले यस्तो बताउनु भएको हो । देउवालाई भेट्न युवाहरू उहाँकै निवासमा पुगेका थिए । वर्तमान राजनीतिक चुनौतीको सामना गर्न पार्टीलाई एकढिक्का बनाएर संवाद, सहकार्य र मेलमिलापको प्रक्रियामार्फत अघि बढ्नुपर्ने धारणा सभापति देउवासमक्ष राखेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आशिष देवकोटाले जानकारी दिनु भयो । जवाफमा सभापति देउवाले आफू एकताका लागि सक्रिय रहेको बताउनु भयो।
‘सभापतिले हामीसित म मिलाउँदैछु, मिलाउन लागिरहेको छु । पार्टी फुटमा जान दिन्नँ भन्नुभयो’ देवकोटाले भन्नु भयो ।
कांग्रेसभित्र विशेष महाधिवेशन पक्ष र संस्थापन पक्ष विपरित धारमा रहेका छन् । दुई धारकै रुपमा अगाडि बढे पार्टी फुटमा पुग्ने भनेर नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूको युवा टोली सभापति देउवालाई भेट्न पुगेको हो ।
भेटमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू धर्मराज शाही, जगतजंग बिष्ट, विनोद शाही, आशिष देवकोटा, बाबुराम भट्टराई, नविनराज जोशी, सन्देश तामाङ, राजु पंगेनी लगायत थिए । उनीहरूले पार्टीभित्र देखिएका आन्तरिक समस्याको समाधान गर्दै एकता र मेलमिलापको पहल गर्न सभापतिलाई आग्रह गरेका छन् ।
विगतमा आन्तरिक विवाद र झगडाकै कारण पार्टीले भोग्नुपरेको फुटको पीडादायी अनुभव नदोहोरियोस् भन्नेमा आफूहरूको जोड रहेको जवाफमा सभापति देउवाले अहिले पार्टीलाई फुटमा जान नदिने बताएको नेता देवकोटाले जानकारी दिनु भयो ।









