झापा,४ माघ । नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट अन्तिम चरणमा पु¥याएको छ । एमालेले कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये ५ वटा क्षेत्रबाहेक २३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाइ सकेको छ । यद्यपि टुङ्गो लगाएका उम्मेदवारका विषयमा समेत असन्तुष्टि सार्वजनिक भइरहेको छ ।
एमालेको शनिबार बसेको सचिवालय बैठकमै उपमहासचिव योगेश भट्टराईले टिकट वितरणप्रति असहमति राखेको बताइएको छ । त्यसो त भट्टराईले उम्मेदवारी दिँदै आएको ताप्लेजुङमा अहिले एमालेको उम्मेदवार नै फाइनल गरिएको छैन ।
भट्टराईमात्रै होइन, कोशी प्रदेशमा पटक–पटक जितेका र चर्चामा रहेका शीर्ष नेताहरू नै ‘रिङ आउट’ हुनु भएको छ। एमाले अध्यक्ष ओलीका निकट पात्रले अपेक्षा गरेअनुसारको टिकट पाउँदा आलोचकहरू र तटस्थ कतिपय नेताको निर्वाचन क्षेत्रमा अर्कैलाई टिकट दिइएपछि असन्तुष्टि चुलिएको छ।
ओली निकट एमाले सचिव भानुभक्त ढकाल मोरङ–३ छाडेर तेह्रथुम पुगनु भएको छ । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक तर्फको सूचीमा राखिएका किशोरचन्द्र दुलालको नाममा टिपेक्स लगाएर संविधान सभा छिरेका ढकाल २०७४ सालको निर्वाचनमा भने मोरङ झर्नु भएको थियो ।
त्यसबेला मोरङ–३ का स्थानीय नेता, कार्यकर्ताको असन्तुष्टिकाबिच निर्वाचन जितनु भएको ढकालले २०७९ सालको निर्वाचनमा भने लज्जास्पद पराजय व्यहोरनु भएको थियो । निर्वाचनमा पराजित भए पनि अध्यक्ष ओलीको आशीर्वाद पाइरहेका उहाँले यस पटक तेह्रथुम रोजनु भएको छ ।
सुनसरी–३ बाट कष्टका साथ कांग्रेस नेता विजयकुमार गच्छदारलाई पराजित गरेर २०७९ सालमा प्रतिनिधि सभा प्रवेश गरेको एमाले केन्द्रीय सदस्य भगवती चौधरीलाई क्षेत्र नम्बर ४ मा पठाइएको छ । क्षेत्र नम्बर ४ बाट एकल सिफारिस भएका जगदिश कुसियैतलाई २ वा ३ मा पठाउने ओलीको तयारी छ । उक्त छनोटप्रति सिधै असन्तुष्टि नराखे पनि चौधरीले सामाजिक सञ्जालमा क्षेत्र नम्बर ३ का जनतालाई धन्यवाद दिनु भएको छ । ‘तपाईंको मतको ईज्जत राखेर प्रभावकारी भूमिका निर्वाह गर्ने, तपाईंको विश्वासमा खरो उत्रिनेछु भनी प्रतिबद्धताका साथ सुनसरी–३ का जनतासँग तपाईंको अमूल्य मत सूर्यमा माग्न चाहन्छु…,’ उहाँले भन्नु भयो।
उता, एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष ओलीको विपक्षी प्यानलबाट सचिव पदमा चुनाव लडेका अग्नि खरेललाई झापा–२ बाट टिकट दिइएन । २०७९ सालको निर्वाचनमा झापा २ नम्बर क्षेत्रबाट चुनाव लड्ने इच्छा राख्दाराख्दै ओलीले खरेललाई क्षेत्र नम्बर १ मा कांग्रेसका नेता विश्वप्रकाश शर्मासँग प्रतिस्पर्धामा उतार्नु भएको थियो भने २ मा देवराज घिमिरेलाई उम्मेदवार बनाउनु भएको थियो । यस पटक पनि खरेललाई रोक्दै उहाँ नै घिमिरेलाई २ नम्बरबाट ओलीले उम्मेदवारीको टिकट दिनु भएको छ।
यस्तै झापा–४ बाट लामो समयसम्म निर्वाचन लडेर विजयी हुँदै आएका लाल प्रसाद साँवा (एलपी साँवा)लाई अध्यक्ष ओलीले टिकट नदिएर मनोज ताम्लीलाई उम्मेदवार बनाउनु भएको छ ।
झापाका नेताहरूका अनुसार साँवा झापा क्षेत्र नम्बर ४ मा लोकप्रिय हुनुन्थ्यो । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ओलीको निर्वाचन क्षेत्र झापाबाट मात्रै १४ जना नेतालाई केन्द्रीय कमिटीमा तानियो । वडाको निर्वाचन पनि नजितेका नेताहरूलाई केन्द्रीय कमिटीमा तान्दै गर्दा दुई–दुई पटक जितनु भएको साँवालाई बेवास्ता गरियो । अहिले टिकट नै खोसिएपछि साँवाका समर्थक निराश बनेका छन् ।
उता, ओलीले आफू झापा–५ बाट उठ्ने पक्का भएपछि आफ्नो जित सुरक्षित गर्न झापा–३ मा उम्मेदवार नै तोकनु भएको छैन । एमाले स्रोतका अनुसार सो क्षेत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाएर झापा–५ मा आफू सहयोग लिने रणनीतिमा ओली हुनुन्छ ।
उता, एमालेले मोरङ–१ मा ४८ साल यता निरन्तर चुनाव लड्दै आएका घनश्याम खतिवडालाई टिकट दिँदा २ मा भने रंगेलीका मेयर दिलिप बगडियालाई उम्मेदवार बनाउने भएको हो । २ नम्बरमा पनि एमालेका केन्द्रीय सदस्यसमेत रहेका सार्वजनिक लेखा समितिका पूर्वसभापति ऋषिकेश पोखरेल खाली हात हुनु भएको छ । मोरङ–६ बाट निर्वाचन लड्ने तयारी गरिरहेका एमालेका नेता विनोद ढकाल, लालबाबु पण्डितलाई यस पटक टिकटबाट बञ्चित गर्न सक्ने देखिएको छ । सो क्षेत्रमा हालसम्म एमालेले उम्मेदवार फाइनल गरेको छैन ।
यस्तै इलामको क्षेत्र नम्बर १ बाट निरन्तर निर्वाचनमा विजयी हुँदै आउनु भएको महेश बस्नेतलाई ओलीले ब्याक गराउनु भएको छ । सो ठाउँमा ०७९ को स्थानीय निर्वाचनमा सूर्योदय नगरपालिकाको मेयर पदमा पराजित बन्नु भएको काजिमान कागतेलाई एमालेले उम्मेदवार बनाएको छ । बस्नेत ओलीको आलोचक हुनुन्थ्यो ।
यस्तै संखुवासभामा एमालेका नेता राजेन्द्र गौतम र तुलसीप्रसाद न्यौपानेको दाबी थियो । दुवैको नाम कटाएर अध्यक्ष ओलीले डाक्टर अर्जुन कार्कीलाई उम्मेदवार बनाउनु भएको छ । उता, खोटाङमा निरन्तर चुनाव लड्दै आँउनु भएका विशाल भट्टराईलाई यस पटक ‘ब्याक’ गरिएको छ । उहाँको स्थानमा देवविक्रम राईलाई उम्मेदवार बनाइएको छ । सोलुखुम्बुमा पूर्वरक्षामन्त्री समेत रहेका मानवीर राईको ठाउँमा कल्पना राई उम्मेदवार बन्नु भएको छ।
उता सुनसरीमा क्षेत्र नम्बर १ बाट सूर्य पन्दाक पक्का हुँदा ओली निकट भनेर चिनिएकी केन्द्रीय सदस्य मञ्जु भण्डारीको टिकट खोसिएको छ । भोजपुरबाट एमाले सचिवसमेत रहेका नेता शेरधन राई र धनकुटाबाट प्रभावशाली नेता राजेन्द्र राई नै उम्मेदवार बन्ने हुनु भएको छ । उदयपुर जिल्लामा दुर्गा थापा स्वोती र अमर रायमाझीले टिकट पाउने हुनु भएको छ । उहाँहरू नयाँ अनुहार हुनुन्छ् ।
ओखलढुंगाका एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार, अम्बिरबाबु गुरुङ पनि टिकटबाट वञ्चित हुनु भएको छ। एमालेले ओखलढुंगामा अस्मिता थापालाई उम्मेदवार बनाउने भएको जनाएको छ ।









