झापा– मोटरसाइकल चोरीमा संलग्न रहेका १ जना भारतीय नागरिकसहित ६ जनालाई झापा प्रहरी पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका-७ का २१ वर्षीय प्रकाश सहनी, २४ पर्षीय प्रकाश दर्जी, २१ वर्षीय दिपक उराव, २२ वर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका-१ का ३० वर्षीय बिर्ख लिम्बु र भारत किसनगंजका १९ वर्षीय महम्मद समिम रहेका छन्।
झापा जिल्लाका बिभिन्न स्थानहरुबाट मोटरसाइकल चोरीको घटना भएको भनि सवारी धनीहरुको लिखित निवेदन दिएसँगै चोरी गर्ने व्यक्तिहरुको सुक्ष्म रुपले निग्रानी तथा पहिचान गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रकाश सहनी भन्ने व्यक्तिले मोटरसाइकल चोरी गरी बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको थियो। उनै सहनीले दिएको बयानका आधारमा चोरीमा संग्लग्न अन्य ५ जनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनीहरु पक्राउ परेसंगै उनीहरुले बिभिन्न समयमा बिभिन्न स्थानबाट चोरी गरेका ७ थान मोटरसाइकल समेत बरामद भएको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।