पथरी, २ बैशाख / उत्तरपूर्वी मोरङको पथरीशनिश्चरे नगर हरियाली तरेलीबीचको रमणीयस्थल हो । जहाँ आफैंमा सृजनशीलताको उर्जा दिने पर्यावरणीय वातावरण छ । वन तथा सिमसारयुक्त पर्यटनको प्रचुर सम्भावनाबीच सृजनशीलताका गतिविधिमा पनि यो सक्रिय छ ।
साविक पथरी, शनिश्चरे र हसन्दह गाउँविकास समिति मिलेर बनेको कृषिमा आधारित नगरपालिका सृजनाको क्षेत्रमा पनि मलिलो छ । जंगलको सिरानी लगाएर निगुरो र सिमसाग पाइने ठाउँको भौतिक चिनारी मात्र हाइन, भाषा, कला, साहित्य र संस्कृतिमा कम धनी छैन ।
व्यवस्था विरुद्ध गुञ्जिएको गीत संगीत :
पञ्चायती व्यवस्था विरुद्धको संघर्षमा सर्जकहरु अग्रसर बनेको अवस्थाबाट यस क्षेत्रको सृजनशील गतिविधिले जरा गाड्न थाल्यो । साविक शनिश्चरको जिरिखिम्ती र हसन्दह वि.सं. १९७० सालको सबैभन्दा पुरानो आवाद क्षेत्र हो । त्यसपछि २०३० सालताका अन्य क्षेत्रमा मानिसहरुको बसोबास सुरु भएको इतिहास छ । ०३५/०३६ बाट झोडा फडानी तथा सट्टाभर्नाको बसोबासको क्रम जोडियो । त्यो बेला वीरध्वज शिवा, खेम नेपाली, नविन सुवेदीहरु गाउँवस्तीमा जनता व्यूँझाउने गीत गाउँदै हिँड्नुहुन्थ्यो । त्यसबेला जनगायक जेवी टुहुरे, लव प्रधान, कुन्दन राईहरु पथरीशनिश्चरे क्षेत्रमा आएर सृजनाको गतिविधि गर्नुहुन्थ्यो । तात्कालिन शनिश्चरे ऐयाबारीका जनक वस्नेतको अगुवाईमा गञ्जमान राई सहितबाट जागरणका रुपमा गीत, नृत्य र नाटिका हुने गरेका थिए । त्यसखाले गतिविधिले गायन र नृत्यमा यो क्षेत्र अगाडि आएको इतिहास छ ।

प्रजातन्त्रको पुनर्स्थापनापछि उत्साहित बनेका सृजनशील यवाहरुले २०४७ सालमा तात्कालिन पथरी २ मा कोपिला जनसाँस्कृतिक मञ्च गठन गरे । केही समयपछि टेकबहादुर राईलाई अध्यक्ष चुन्दै त्यसको नाम नवप्रतिभा जनसांस्कृतिक मञ्चमा बदलियो । सोही समयमा नरेन्द्र राई, पृथ राइ सहितको नेतृत्वमा पथरी ७ मा प्रगतिशील जनसाँस्कृतिक मञ्च क्रियाशील थियो । यी संस्थाहरुले चेतनासँगै साँस्कृतिक कार्यक्रमको माहौल ल्याए । शक्तिवल राई, विक्रम राई, कोषराज श्रेष्ठ, अमीर राई, राजकुमारी राई, जय राई, अशोककुमार राई, तारामान राई, पर्वत विश्वकर्मा, समीता राई, यानु श्रेष्ठ, राधिका घिमिरे, लक्ष्मी श्रेष्ठ, हर्क राई, टीकाराम राई, पृथ राईहरुको समूहले त्यो बेला पूर्वाञ्चल नै तताउँथ्यो । यो समूहले विराटनगरहुँदै इलाम, झापा, सुनसरीमा कार्यक्रम भ्यायो । राष्ट्यि जनसाँस्कृतिक मञ्चका कार्यक्रम यहीँ केन्द्रीत हुन्थे । बुद्धचोकमा जन्मिएको प्रोग्रेसिभ युथ क्लबले पनि कलासँगै साहित्यका गतिविधि अघि बढायो । तात्कालिन पथरी ७ मा सृजनशील समूहमार्फत गणेश वाछानाहरुले गतिविधि अघि बढाउनु भएको थियो ।
पुराना लोकगायक वीरध्वज शिवाहुँदै महेश बुढाथोकी, शक्तिवल राई, विक्रम राई, अमीर राई, रविन कन्दङ्वा, पुष्प बराल, दिपराज नियोङहाङ, देव गुरुङ, नन्दु गुरुङ, अर्जुन सेन्चुरी, समीर विक, गौरव दर्पण, विकेश साउदेन, विनोद राई, निर्मला विश्वकर्मा, जगत राई, विजुला विश्वकर्मा, सुधाश्रेया दवाडी, दीपक बराइली, सम्झना राई, गंगाप्रसाद घिमिरेहरु निरन्तर सक्रिय हुनुहुन्छ । विनोद राई त तेस्रो नेपाली ताराको सातौं स्थानसम्म आफुलाई उकाल्न सफल भएका गायक हुनुहुन्छ । राम थापा नगरका पहिलो लोकदोहोरी गायक हुनुहुन्छ । पुराना सारंगी वादक गायक नेत्र दवाडीको छुट्टै पहिचान छ । पथरीका पूर्व प्रधानपञ्च कर्णबहादुर राईले पनि पञ्चायतकालमै ४ वटा गीत रेडियो नेपालमा रेकर्ड गराउनु भएको थियो । जन्तरे मामाका नामले चिनिनुभएका स्व.अमितकुमार राईले पनि जीवनको पछिल्लो समयमा गीत संगीतबाट आफूलाई चिनाउनु भएको थियो । केही गीत रेकर्ड भएका उहाँको ०८१ कार्तिक ७ गते ५६ वर्षको उमेरमा निधन भयो ।

२०७७ मा सम्पन्न नेपाल आइडल सिजन ३ मा वडा नम्बर २ स्थायी घर भएकी सज्जा चौलागाईंले उपाधि जितेर नगरको नाम राख्न सफल बन्नु भएको छ । ‘हामीले गाउँ बस्ती व्यूझाउँदै नागरिक अधिकार अनि सृजना क्षेत्रको महत्व स्थापित गर्न लागिपरिरहेका छौं ।’ शिवाले ४० वर्षअघिको संघर्षका दिन सम्झिदै भन्नुभयो ‘जसका कारण पथरी शनिश्चरे सृजनामा चिनिएको ठाउँ थियो । त्यो इतिहास पुनर्जागृत गर्ने अभियानमा युवा पुस्ता उसैगरी सक्रिय छन् ।’
माओवादी साँस्कृतिक अभियान :
०५२ सालबाट सुरु भएको माओवादी जनयुद्ध राजनीतिकसँगै साँस्कृतिक अभियानका रुपमा अघि बढ्दा पथरी शनिश्चरेको प्रभाव पनि महत्वपूर्ण रह्यो । भूमिगत कालमा नेकपा माओवादीका राजनीतिक कार्यक्रममा गीत, नृत्यसहितका साँस्कृतिक प्रस्तुतिको प्रभाव रह्यो । त्यो बेला पूर्व क्षितिज जनसाँस्कृतिक परिवारले त्यो खाले गतिविधिको अगुवाई गरेको स्मरण गर्नुहुन्छ अभियानका एक सदस्य रविन मगर । नीरबहादुर मगरको अगुवाईमा कुवेर सुवेदी, रविन मगर, योगेन्द्र भित्रिकोटी, सीमा राईहरु सो परिवारमा रहेर गीत संगीत क्षेत्रमा सक्रिय बन्नुभएको थियो । त्यो बेला सेनाको आक्रमणमा सहिद बन्न पुगेका व्यक्तिहरुको नामबाट बम र एलजीवी साँस्कृतिक परिवारले पनि गतिविधि गरेको पाइन्छ ।
गीती एल्बम :
वीरध्वज शिवा नगरमा एल्बम निकाल्ने पहिलो गायक हुनुहुन्छ । उहाँले ०५४ सालमा ‘मै परें जालैमा’ लोकाधुनिक एल्बम सार्वजनिक गर्नुभयो । त्यसअघि सो एल्बममा समेत समेटिएको ‘जाग उठ हे वीर तन्नेरी हो’ रेडियो नेपालमा रेकर्ड भएको थियो । महेश बुढाथोकी काफलगेडी कुटुक्कैबाट सर्वाधिक लोकप्रीय भएका पुराना गायक हुनुहुन्छ । उहाँले आधा दर्जन एल्बम निकाल्नु भएको छ । अमीर राईको ‘सप्रेम’, रविन कन्दङ्वाको ‘दिलहिरा’, देव गुरुङको ‘जमर्को’, शक्तिवल राईको ‘फूलै सिमल’, सन्तोष ओगेघा राईको ‘मेमोरी’, विनोद राईको ‘पारा’, नन्दु गुरुङको ‘जमाना’, समीर विश्वकर्माको ‘मोनालिसा’, गौरव दर्पणको ‘पूर्वै रमाइलो’ एल्बम आएको छ । मोनासिलाले इमेज अवार्ड जितेको थियो । टोनी तामाङ, मञ्जित राई, खड्ग राई र सुवास खड्काहरुले ‘सोल्टीनी कान्छी’ एल्बम ल्याउनु भएको थियो । अन्तर विद्यालय सिंगिंग स्टार मार्फत ०६७ ‘पहिलो पाइला’ बाल गीती संग्रह आयो । ओजस्वी कला केन्द्रका सोम याम्फू, लालिमा श्रेष्ठमार्फत सोपान, कसम हजूरको एल्बम निस्कियो । विकेश साउदेनको एकल संगीतमा सुमन राई, नगेश काफ्लेहरुको गजल समेटेर निर्माण भएको नगरको पहिलो गजल एल्बम ‘जिविविषा’ हो । हाल पत्रकारिता गरिरहनु भएका विजय खम्बुकासाथै अनिल राई, रञ्जित राई, मेनुका कुलुङ, रञ्जित राई, रुपा हाङ्गाम, राजन लोहारको गायनमा ०६१/०६२ मा ‘सोपान’ एल्बम निस्कियो । त्यसमा लालिमा श्रेष्ठको शब्दमा सोम याम्फूको संगीत थियो । अन्य दर्जनौं एल्बम आएका छन् ।
जय राई, अवोध पन्धाकहरुले सृजना कलाकेन्द्रमार्फत दोकदोहोरी प्रतियोगिता गर्नुभएको थियो । सोम याम्फुहरुले ओजस्वी कलाकेन्द्र सञ्चालन गरेर कला क्षेत्रको विकासमा योगदान पुर्याउनु भयो । नृत्य सिकाउनमा पथरी डान्स सेन्टरमार्फत राम विश्वकर्मा, अविनाश विश्वकर्मा, द डान्स ग्यालरीमार्फत अभिषेक मगर सक्रिय हुनुहुन्छ । शनिश्चरेमा नटराज कलाकेन्द्र छ । माउन्ट एभरेष्ट इन्टरटेनमेन्टले पहिलो पटक ०७६ वैशाखमा ‘पहिलो मिस पथरीशनिश्चरे’ सम्पन्न गरेको छ । जसबाट रिजु भट्टराई विजेता बन्नुभयो । नगरमा मोडलिङ क्षेत्रमा पनि सर्जकहरु उदाएका छन् । उद्घोषण कलामा चिनिएका भूवन सुवेदी पनि यही नगरका युवा उर्जा हुनुहुन्छ ।
गायिका अञ्जु गौतम पनि यहीँको गीत संगीतको सिकाईबाट देशभर चिनिन पुग्नु भएको छ । अर्जुन सेन्चुरी, कुलदिप घले, मञ्जित मगर, सुवास मगर, सावन मगरले ‘युग व्याण्ड’ बनाउनु भएको थियो । शनिश्चरेमा नेमलेस ब्याण्ड थियो । यलम्वर चोकका युवाहरुले सांगीतिक समूह बनाएर सक्रियता झल्काएका छन् ।
हवाई पत्रिकाको लहरमा साहित्यिक इतिहास :
गीत संगीतसँगै साहित्यिक गतिविधिको इतिहास केलाउँदा तात्कालिन पथरी १ मा गठित क्षितिज एकता मञ्च ०५० को दशकको सुरुमा कला, साहित्य र सामाजिक गतिविधिमा सक्रियो थियो । देउमान सम्वाहाम्फे, धनकुमार तामाङ, प्रदीपकुमार राईहरुको सक्रियतामा मञ्चको आफ्नै भवन थियो । त्यसबाट विमला तुम्वेखा, भूपेन्द्र तिम्सिना, रोहित पराई, सुमन राई, भरत भट्टराईहरुको सम्पादनमा हवाई पत्रिका ‘क्षितिज’ समेत प्रकाशित भयो ।
०५१ सालमा सोमनाथ निरौला, जीवन शर्मा (पुरुषोत्तम मिश्र), सीएम कन्दङ्वा, चन्द्र सुब्बाहरुको अगुवाईमा पथरीमा साहित्यिक गतिविधि अघि बढ्यो । साँझ साँझमा भेला भएर रचना सुन्ने सुनाउने कामको योजनामा ०५१ मा खडा भएको ‘उद्घोष साँझ’ मा भर्खर लेख्न थालेका बिमला तुम्खेवा, भूपेन्द्र तिम्सिना, चन्द्र खनाल, मेनुका राई, रोहित पराई, सुमन राई, कोषराज श्रेष्ठ, भरत भट्टराई, कृष्ण पौडेल, बसन्ता बराल, धनपति तिम्सिना, अम्विका तिम्सिना, यामनाथ बराल प्रदिप बरालसहित सहभागि हुने गर्नुहुन्थ्यो । उद्घोषले धेरैवटा कार्यक्रम गरेर पूर्वका सर्जकहरुको ध्यान केन्द्रीत गर्न सफल भएको थियो । स्व. डा. नरेन्द्र चापागाईं, स्व.अनिरुद्र तिम्सिनाहरु विराटनगरदेखि यस क्षेत्रको सृजना प्रोत्साहनका लागि लड्दै पड्दै आउने गर्नुहुन्थ्यो । पथरी, देवीगञ्ज र वीरेन्द्रनगर आइतवारेमा कार्यक्रमका गतिविधि भए । कृष्णप्रसाद अधिकारी, देवीप्रसाद घिमिरेहरु लेखनमा अघि बढ्नु भएको थियो । उद्घोषको ‘साँझ’लाई हटाएर रोहित पराईको अगुवाईमा ०६८ मा ‘उद्घोष साहित्य समाज’ बनाइपनि त्यति सक्रिय भनें हुन सकेन । यसबेला दिवंगत भइसकेका इश्वर आँशु मगरको अगुवाईमा बनेको ‘यात्रा प्रतिष्ठान’ र रोहित पराईको अगुवाईमा बनेको गाउँघर साहित्यक समूह पनि त्यस्तै भयो ।

साहित्य, कला र संस्कृतिको समीश्रित अभियान अघि बढाउने काममा एभरेष्ट आर्ट फ्यूजन सक्रिय छ । ०६६ सालमा चित्रकार सरोजा खड्गीको अगुवाईमा गठित कला र साहित्यको समिश्रण बोकेको संस्था एभरेष्ट आर्ट फ्यूजनले प्रत्येक महिनाको पहिलो शुक्रबार ‘सृजना चौतारी’ नामक कार्यक्रम ०७४ फागुन ४ गतेबाट अगाडि बढाए पनि निरन्तर हुन सकेन ।
केही हवाई र भित्ते पत्रिकाहरु पनि प्रकाशित भए । गणेश वाछानाले हवाई पत्रिका ‘अनुपम’ द्धैमासिक, नगेश काफ्ले र राम तामाङ ओझेलहरुको ‘बाछिटा’, खेम श्रेष्ठ, निर्मल निरौला मितज्यू, अवोध पन्धाक, सूर्यविक्रम याख्खाहरुको ‘सुनौलो पालुवा’, फिपराज वेघाहरुको ‘सहारा’ द्धैमासिक साहित्यिक पत्रिका प्रकाशन भएर साहित्यको उचाईमा इँटा थप्ने काम गर्नुभयो । हवाई पत्रिकाको संगठनले नगरमा पहिलो पटक चौतारी काब्य क्यालेण्डर ०६१ प्रकाशन गरेको थियो । कोषराज श्रेष्ठ, रोहित पराई, निर्मल निरौला मितज्यूको सक्रियतामा प्रकाशित क्यालेण्डरको सम्पादन गणेश वाछानाले गर्नुभएको थियो । नवनिहारिका प्रकाशनको ‘नवनिहारिका’ साहित्यिक पत्रिकाले यहाँको सृजना प्रकाशनको क्षेत्रमा महत्वपूर्ण इतिहास बनाएको छ ।
अशोक साम्पाङ राई, गणेश वाछाना राई सहितको सक्रियतामा साप्ताहिक रचना वाचनको कार्यक्रम ‘कवि कुना’ खडा गरेर ०६९ भदौ ६ गतेदेखि प्रत्येक शनिबार बेलुका सृजना भलाकुसारी १ वर्षसम्म अघि बढ्यो ।
पथरीतर्फको साहित्यको माहोल सृजना भइरहेको बेला शनिश्चरे चोक र आसपासका साहित्यानुरागीहरुले ०५४ मा ‘एकता पुस्तकालय’ स्थापना गरे । ऋषि पौडेल, घनेन्द्र ओझा, कृष्णप्रसाद निरौला, बद्री ओझा, भद्रमान विश्वकर्माहरु त्यसमा सक्रिय हुनुहुन्थ्यो । त्यसपछि चेतन जंगली पौडेल घनेन्द्र ओझाहरुले सृजना हाँक्नुभयो । त्यहाँका लेखप्रसाद निरौलाले साहित्यमा पीएचडी गरेर सृजनाको क्षेत्रमा आफ्नो उचाई बढाउनु भयो । जिरिखिम्तीका युवाहरुले ‘सूर्योदय’ नामक भित्ते पत्रिका प्रकाशित गरेका थिए । लामाटोलमा पनि धनपति तिम्सिना, अम्विका तिम्सिनाहरुले भित्ते पत्रिका प्रकाशन गरेर साहित्यको उर्जा बढाउने गर्नुहुन्थ्यो । मोहन सुब्बाले पनि हवाइ पत्रिका प्रकाशित गर्नुहुन्थ्यो । हसन्दहमा उमानाथ अधिकारी, पुरुषोत्तम मिश्रहरुले सृजनाका माहोल सृजना गर्नुहुन्थ्यो । प्रगति युवा क्लब, सामाजिक देउराली युवा क्लब, कञ्चनजंघा युवा क्लब सहितका क्लब सक्रिय थियो ।
पुस्तक प्रकाशन :
यस क्षेत्रमा सवैभन्दा बढी पुस्तक प्रकाशन गरेर देश विदेशमा समेत चिनारी बनाउनेमा वडा नम्बर १० घर भई १ नम्बरमा बसोबास गर्दै आएका लेखक दीपेन्द्रराज तिम्सिना हुनुहुन्छ । उहाँले १४ वटा खोजमूलक पुस्तक प्रकाशन गर्नुभएको थियो । १५ औं कृतिको तयारीमा लागेका उहाँको उच्च रक्तचापको समस्याबाट २०८२ फागुन १९ गते ४५ वर्षको उमेरमा निधन भएको छ । केही नाटकहरुमा पनि अभिनय गर्नुभएको उहाँ केही वर्ष पत्रकारिता गरेर पुस्तक लेखनमा लाग्नु भएको थियो ।

हाल भक्तपुरमा बसोबास गर्दै आएका गजलकार घनेन्द्र ओझाले गजल, गजल सिद्धान्त सहितका १ दर्जन कृति प्रकाशित गर्नुभएको छ । स्व. प्रेमप्रकाश उप्रेती पिडीतले आधा दर्जन बढी पुस्तक प्रकाशन गर्नुभएको थियो । सीएम कन्दङ्वाका ५ वटा कृति प्रकाशित छन् । पुस्तक प्रकाशनको सन्दर्भमा नगरमा गजल संग्रह प्रकाशित गर्नेमा अञ्जु अञ्जली पहिलो सर्जक हुनुहुन्छ । विमला तुम्खेवा, भूपेन्द्र तिम्सिना, घनेन्द्र ओझा, जय राई, कृष्णप्रसाद अधिकारी, दीपेन्द्र दहाल, रमेश सायन, दीपा प्रहार, देवीप्रसाद घिमिरेसहितले पुस्तक प्रकाशित गर्नुभएको छ । नगरमा भूपेन्द्र तिम्सिना, रोहित पराई, सुमन राई, गणेश वाछाना, विद्रोही कान्छा, भवानीप्रसाद दुलाल, शम्भूराज घिमिरे, दिपक दियालो, रमेश सायन, ओमप्रकाश अभिन्न, दीपा प्रहार, राजेन्द्र विवश, अजय धमला आँशु, निश्चल सुवेदी, प्रतिमा गुरुङ, लक्ष्मीप्रसाद फुयालहरु कविता र गजलमा सक्रिय हुनुहुन्छ । हाल इटहरीमा बसोबास गर्ने साहित्यकार तथा पत्रकार रामप्रसाद खरेलको साहित्यिक कखरा यहीँबाट सुरु भएको हो । उहाँ प्राज्ञ समेत भइसक्नु भएको छ ।
कला साहित्य प्रवर्द्धन समिति र आइडल :
पथरी शनिश्चरे नगरमा २०७५ भदौ २६ गते नगरपालिका अन्तर्गतको उपसमितिका रुपमा अगुवा गायक वीरध्वज शिवाको अगुवाईमा ‘कला साहित्य प्रवद्र्धन समिति’ गठन भयो । त्यस अन्तर्गत साहित्य, गीतसंगीत, नाट्य र चित्रकला मूर्तिकला गरी ४ विभाग समेत गठन भएर सक्रिय छ । यही समितिमार्फत ०७६ जेठ १८ र १९ गते ‘प्रथम पथरी शनिश्चरे बृहत कला उत्सव’ आयोजना भयो ।
जसले प्रत्येक वर्ष एकजना अग्रज सर्जकलाई सम्मान गर्दै साहित्य र कलाका कार्यक्रम गर्दै आएको छ । जस अन्तर्गत समितिको आयोजनामा ०८१ सालमा पहिलो पटक पोयट आइडल सम्पन्न भयो । जसमा लोकसागर साम्बा आइडल बने । समितिले ०८२ मा पहिलो सिंगिङ तथा डान्सिङ आइडल सम्पन्न गर्न पुग्यो । राज लोहार सिंगिङ आइडल र डान्सिङमा गरिमा मगर आइडल बन्न सफल हुनु भएको थियो । ‘हामीले कला र साहित्य क्षेत्रका सर्जकको प्रोत्साहन र सम्मानका लागि नगरपालिकामार्फत वर्षेनी कार्यक्रम गर्दै युवा युस्तालाई सृजनशील बन्ने सन्देश दिइरहेका छौं ।’–समितिका अध्यक्ष धनराज राई अमीरले समितिको प्रयत्न प्रष्ट्याउनु भयो । नगरपालिको शिक्षा शाखाले विगत २ वर्ष अघिबाट विद्यालयका विद्यार्थीबीच प्रतिभा पहिचान कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

नाट्य इतिहास :
नाट्य गतिविधिको संस्थागत इतिहास केलाउँदा तात्कालिन पथरी ८ मा रहेको सगरमाथा नाट्य समूहको देन निकै महत्वपूर्ण छ । ०४८ मा विक्रम फागो वनेमको अगुवाईमा रमेश फागो, तीर्थ आचार्य, बाबुराम पोखरेल भाञ्जाबाबु, दुर्गा पोखरेलहरुले नाटकको माहौल बनाउनु भएको थियो । संयोग वियोग, क्रान्तिले बलि चाहन्छ, आँशुले मुछिएको भाइटीका जस्ता प्रभावकारी नाटक टिकटमा पूर्वमा हल हलमा देखाइएको थियो । त्यसबेला यस क्षेत्रबाट सवैभन्दा पहिले रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र धनकुटामा नाटक रेकर्ड गर्ने समूह सगरमाथा नै हो । उसले २०५७ सालमा त्यहाँको वीरेन्द्रनगरमा २ दिने क्षेत्रीय नाटक महोत्सब २ दिनको सम्पन्न गरेको थियो । ०४७ मा भोजकुमार राईको अगुवाईमा तात्कालिन शनिश्चरेको सिंहवाहिनी माविमा ‘रातो तारा चम्केपछि’ नाटक मञ्चन भएको थियो । तात्कालिन पथरी १ मा ०४४,०४५ सालताका मेनुका राईको अगुवाईमा युवराज वास्कोटाहरुले आमा, टुहुरो कथा सहितका नाटक प्रस्तुत गर्नुभएको थियो ।
संस्थागत नाट्य गतिविधिमा धेरै नाटक गर्ने र हालसम्म पनि निरन्तर सक्रिय रहनेमा तात्कालिन शनिश्चरेमा खडा भएको कञ्चनजंघा नाट्य समूहका कलाकारहरु आउँछन् । तात्कालिन पथरी र शनिश्चरेका नाटककार मिलेर ०५७ मा नाट्य समूह खडा भयो । त्यस अघि भूपेन्द्र तिम्सिना, सुमन राई, युवराज तामाङहरुले नाटक गर्नुहुन्थ्यो । दिननाथ पोखरेल ‘अभय’ अध्यक्ष रहेको कञ्चनजंघाले त ०६० सालमा शान्तिको आव्हान गर्दै मेचीदेखि महाकालीका १४ स्थानमा नाटक ‘शान्ति’ प्रदर्शन गरेर प्रशंसा बटुलेको थियो । उसले नेपालका ३ सय बढी स्थानमा विशेषगरी सडक नाटक प्रस्तुत गरिसकेको छ । त्यसमा स्व. मनोज घिमिरे र गंगाबहादुर कटुवालको महत्वपूर्ण देन छ । भूपेन्द्र तिम्सिना, अभय पोखरेल, कमलराज भुजेल, ज्योति अधिकारी, भीष्म न्यौपाने, कमला घिमिरे, सुमन राई, मात्रिका पौडेल, दीपक खतिवडा, कल्पना थापा, हरेन्द्र खत्री, बविता नियोङहाङ, भूमिप्रसाद पाठक, हरेन्द्र खत्री, दीपेन्द्र दहाल, लीला कुलुङ, मेनुका कुलुङ, सरोज तिम्सिना, प्रदीप आचार्य, लक्षणा राईहरु नाट्य क्षेत्रमा सक्रिय रहनु भएको छ ।


नाट्य समूह हुँदै एनपीएल मिडिया र पथरी मिडिया प्रालिमार्फत सो समूहले ०७१ मंसिर १३ बाट हाँस्य टेलिश्रृखला ‘दोबाटे’ सुरु गरेर देशभरी नै चिनिएको छ । भूपेन्द्र तिम्सिनाको लेखनमा सुरु भएको त्यसलाई हाल हरेन्द्र खत्रीले अघि बढाइरहनु भएको छ । नाटकको प्रसंगमा तात्कालिन पथरी १ का स्व.इश्वर आँशु मगर र भरत भट्टराईको व्यक्तिगत सक्रियताको अगुवाई ऐतिहासिक छ । उहाँहरुले १,१ दर्जन नाटक प्रदर्शन गर्नुभयो । उहाँहरुले हलहरुमा टिकटमा मञ्चन समेत गर्नुभएको थियो । नाट्य गतिविधिमा माहौल सिर्जना गर्नेमा अर्जुन सुवेदी, प्रकाश दर्नाल सहितको पनि उस्तै महत्वपूर्ण योगदान छ । अर्जुनले त चलचित्र निर्माणको विषयमा डिग्री हाँसिल गरेर अमेरिकामा त्यसै क्षेत्रमा काम गरिरहनु भएको छ ।
पथरी २ मा लालिगुरास युवा क्लबमार्फत ०५८ सालताका नाटकको गतिविधिमा जीवन बराल, मेनुका कुलुङ, पर्शुराम न्यौपाने, सरोज तिम्सिनाहरु सक्रिय हुनुहुन्थ्यो । लामाटोलका सञ्जय राई पनि नाटकमा हुनुहुन्थ्यो । शनिश्चरेका वीरेन्द्र मगर, मुकुन्द कार्की, अजय भट्टराई शंकर पोख्रेलहरुले पनि नाट्यकर्म गर्नुभएको थियो ।
हसन्दहमा श्रीराम रायामाझी नाट्य क्षेत्रका अगुवा हुनुहुन्छ । अमरदह र हसन्दहका नाट्यकर्मी समेटेर साविक हसन्दह ७ मा श्रीरामकै अगुवाईमा अह नाट्य समूह सञ्चालनमा थियो । शनिश्चरे नाट्य समूहमार्फत श्रीरामको लेखन, निर्देशनमा आरोहण अवतरण, लेखान्त नाटक चलचित्र हलमा प्रदर्शन भएको थियो ।
नाटक गर्दै आएका त्यहाँका उर्जाशील युवाहरुले ०७५ सालमा कल्पना मिश्रको अगुवाईमा हसन्दह नाट्य समूह गठन भयो । त्यहाँ कल्पनाको अगुवाईमा अनिता गौतमहरु नाटकमा हुनुहुन्छ । त्यहाँ श्याम चौलागाईं, विन्दा राई, श्याम रायमाझीको पनि नाटकमा योगदान छ । शनिश्चरेका शंकर राई पनि नाटक लेख्ने र राम्रो अभिनय गर्ने गर्नुहुन्थ्यो ।
गन्तव्य थिएटरहुँदै शिल्पि थिएटरमार्फत आधुनिक नाटकमा दख्खल राखेका जीवन बराल हाल नगरमा नाट्यकर्ममा व्यस्त हुनुहुन्छ । पर्शुराम न्यौपानेको अगुवाईमा गठन भएको शब्द थिएटर ०८२ बाट पुराना रंगकर्मी अशोक साम्पाङ राईको अगुवाईमा पुनर्गठित भई रंगमञ्च विस्तारका क्रममा टिकटमा नाटक देखाउँदै स्थानीयलाई रंगकर्मको प्रभाव छोड्न सफल भएको छ । थिएटर दान प्राप्त भएको ४ कठ्ठा जग्गामा नाट्यशाला भवन निर्माणको प्रक्रियामा छ । ‘रंगमञ्च र सिंगो सृजनाका क्षेत्रमा केही गर्ने अवसर प्राप्त भएको छ, यसलाई सबैको सहकार्यमा पुरा गर्ने हाम्रो अठोट छ ।’ नाट्यशालासहितको सृजनास्थल निर्माणको सन्दर्भ जोड्दै भन्नुभयो थिएटर अध्यक्ष साम्पाङले ।

चलचित्र :
यस क्षेत्रबाट सवैभन्दा पहिले चलचित्रमा अभिनय गर्ने अभिनेत्री सालु सुब्बा हुनुहुन्छ । अनि चलचित्र निर्देशनमा निरन्तर लागिरहनेमा वद्री आचार्य पर्नुहुन्छ । ०५४ ताका गोपाल राईको निर्देशनमा छोटो चलचित्र ‘दोषी को ?’ बनेको थियो ।


इश्वर आँशु मगरले सानो पर्दाको ‘रातो बर्की’ निर्माण गर्नुभयो । उहाँले हरि रसाइलीहरुको साथमा ‘तालावन्द’ सुरु गरेपनि त्यो पूर्ण हुन सकेन । चलचित्र ‘देउमाईको किनारमा’ पथरी क्षेत्रका प्रतिभाहरुले समेत अभिनय गरेका थिए । सब्बु सुवेदी, जीवनसाथी वस्नेत यही क्षेत्रबाट उदाएका चलचित्रकर्मी हुनुहुन्छ । जेएन तिम्सिना, अनिश खतिवडा, सन्तोष राई, जीवन बराल, सुमन बराल, मनोज विक, अनुप योञ्जन, करण धिताल, प्रेमप्रसाद खतिवडाहरु चलचित्रमा लागिपर्नुभएको छ । नगरकै ५ जना निर्माताले पहिलो पटक ‘पुरानो बुलेट’ नामक चलचित्र निर्माण गरी देशविदेश प्रदर्शन गरे । लघु चलचित्र निर्माणमा मौसम परिवर्तन याक्थुम्बा पनि जोडिनु भएको देखिन्छ । चलचित्र ‘पीआर’मार्फत वडा नम्बर १० की विनिता कार्की नायिकाका रुपमा उदाउनु भएको छ ।
नाटकमा स्थापित श्रीराम रायामाझीले ०५६ मा सानो पर्दाको चलचित्र तुवालोले ढाकेको वस्ती, ०६० मा ‘सम्झना’ निर्माण गर्नुभएको थियो । श्रीरामकै निर्देशनमा स्थानीय केवलमार्फत ‘नमस्ते पथरी’ र ‘हेल्लो पथरी’ नामक साप्ताहिक कार्यक्रम ५० श्रृंखला प्रसारण भएको थियो । ओजस्वी कला केन्द्रमार्फत उहाँले अभिनयको प्रशिक्षण समेत सञ्चालन गर्नुभएको थियो । त्यहाँ सुरेन्द्र दियाली र अर्जुन सुवेदी कार्यरत हुनुहुन्थ्यो । सो क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्नुहुने पथरीका पुष्पाञ्जली फोटो स्टुडियोका विष्णु थपलिया तथा चण्डी चापागाईं, केचनाका हर्कराज राईको देन पनि महत्वपूर्ण छ ।

कृष्णकुमारी पोखरेल तिम्सिना (कृषा) लामो समयदेखि साजसज्जा तथा कला क्षेत्रमा सक्रिय रही सो सम्बन्धी १ दर्जन अवार्ड प्राप्त गर्नुभएको छ । चलचित्र क्षेत्रमा समेत काम गर्नुभएकी उहाँले २०१७ मा व्यूटिसियन नेपाल कम्पिटिसन, २०१७ मा न्यू लुक फेसन शो, सोही वर्ष अमेजन व्यूटि प्याजेन्ट शो, २०१८ मा भोजपुरी नेशनल मेकअप आर्ट कम्पिटिसन्, २०२२ मा फिल्म मेकअप आर्ट कम्पिटिसनलगायत उत्कृष्ठ अवार्ड प्राप्त गर्नुभएको छ ।
भुपाल ठटालको अगुवाईमा लघु चलचित्र ‘तिम्रो मेरो कथा’, अनिश खतिवडाको निर्देशनमा ‘तितो पिरो’ श्रृंखला सञ्चालन भएको थियो । भवानीप्रसाद दुलालले केही श्रृंखला लेखन र अभिनय समेत गर्नुभएको छ । एन्जिला गिरीले ‘तिम्रो मेरो कथा’, ‘विश्वास ३’, ‘ब्लाइण्ड लभ’सहितका लघु चलचित्रमा अभिनय गर्नुभएको छ । कञ्चनजंघा नाट्य समूहबाट उदाएकी कल्पना थापाले काठमाडौंमा नाटक उत्पादन, अभिनय क्षेत्रमा सक्रियता जनाइरहनु भएको छ ।
युवराज ओझा, मुहासिंह मगर, गोपाल काफ्ले, दिनेश कटुवाल, इश्वर दुलालहरु चलचित्र तथा बृत्तचित्र छायांकन, सम्पादनमा हुनुहुन्छ । चलचित्र छायांकनमा पुराना छायांकार सिद्धार्थ राना, विष्णु सुब्बाको पनि देन छ । जीपी जोडी हाँस्यव्यंग्य क्षेत्रमा सक्रिय छ । देव गुरुङ, गणेश वाछाना राई, गोपाल काफ्ले र रोस्मन राईले ‘हाम्रो पथरी राम्रो पथरी’ डकुमेन्ट्री निर्माण गर्नुभएको थियो । पथरी जेसीज २०२६ का अध्यक्ष समेत रहनु भएका सुमन कुरुम्बाङ सञ्चारकर्म, उद्घोषणसहित कलाकारिताका गतिविधिमा पनि सक्रिय हुनुहुन्छ ।
चित्रकला, मूर्तिकला :
चित्रकला र मूर्तिकलातर्फ भरत राई, प्रेम राई, श्रीराम रायामाझीहरुले दिवान कला केन्द्रमार्फत कलाको व्यवसायिकता सुरु गर्नुभएको हो । तीनै जनाको लगनशीलतामा दिवान कलाकेन्द्रमार्फत धरानको बुढासुब्बा गोल्डकपको लोगो बनाइएको थियो । लारिङ आर्ट सेन्टरका ऐयाबारी निवासी हाल दिवंगत पदम लिम्बूको पनि पेन्टिङमा योगदान छ । त्यसपछि सरोजा खड्गीहरुको सक्रियतामा देशमै चिनिने अवसर मिल्यो । धनबहादुर लिम्बू, भरत तामाङ, बुद्धिमान धिमाल, डीवी राई, हुँदै चित्रकलाको समेत यहाँ विकास भएको छ । मूर्तिकलामा टीकाराम राई, कृष्ण गजमेर, दिलमान वेघाहरुको सक्रियता छ । सरोजाले ‘विष्णु मीना ललितकता पुरस्कार’ नै खडा गर्नुभएको छ ।
जातीय कला साहित्य र संस्कृतिमा पनि नगर सक्रिय छ । एभरेष्ट आर्ट फ्यूजनको विशेष पहलमा पञ्चायत माविमा कक्षा ११ र १२ मा ललितकलाको पठन पाठन सञ्चालन छ । जसमा सञ्जु मगर शिक्षकका रुपमा ललितकलाको विकासमा लागिपर्नुभएको छ ।
लोपोन्मुख संगिनी र बालनको संरक्षण :
वडा नम्बर ३ मा भूवनेश्वर पोखरेल, रेनुका काफ्ले, देवीमाया पोख्रेलहरु बालन र संगीनीको मौलिकता जोगाउन लागि पर्नुभएको छ । त्यहाँ पाथीभरा बालन समूह छ । ०६२ माघ १८ गते भजन किर्तन गर्न धार्मिक कार्यमा सघाउन रेणुकादेवी काफ्ले अध्यक्ष रहेर स्थापना भएको महिला जागरुक हरिकिर्तन समूह २०७६ बाट संङ्गिनी नाचको संरक्षणमा जुट्न थाल्यो । जहाँ महिला जागरुक हरिकिर्तन संगिनी समूहले ०८१ मा सम्भवत नेपालमै पहिलो पटक संगिनी महोत्सव सुरु गरी ०८२ मा दोस्रो महोत्सव सम्पन्न गरेको छ । वडा नम्बर ३ मै तेजमाया कार्कीको अगुवाईमा पाथीभरा नौमति बाजा संरक्षण समितिमार्फत महिलाहरुको सक्रियतामा नौमति बाजा संरक्षण अभियान सञ्चालन छ । नगरका सर्जकको नाम धेरै छुटेको हुनसक्छ । विभिन्न विधाका सर्जकहरु सवैको नाम अटाउन यस लेखमा सम्भव पनि हुन सक्दैन ।

हालका नेपालकै ख्यातिप्राप्त हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलको कलाकारिताको विजारोपण यही नगरबाट भएको हो । काफल गेडी कुटुक्कैबाट नेपाली लोकगीतको उचाई बनाएका महेश बुढाथोकी, अर्का गायक वीरध्वज शिवा, नाटकबाट उचाई बनाएका जीवन वराल, मिलन नेपाली, विरेशबाबु शाही, गजल अभियन्ता घनेन्द्र ओझा, उद्घोषण सहितको तालिमकलाको उचाई बनाएकी जेसीजकी मञ्जरी घिमिरे यही नगरका गहना हुनुहुन्छ । चित्रकलामा राष्ट्यि अन्तरराष्ट्यि पुरस्कार प्राप्त नगरको पहिलो प्राज्ञ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी सदस्य सरोजा खड्गी, कवि विमला तुम्खेवा, रमेश सायन, पूर्वै रमाइलो गीतका गायक गौरव दर्पण, सज्जा चौलागाईंसहितले देश विदेशभरी नगरको उज्यालो छर्नुभएको छ ।
सुन्दर हस्तकला लेखन अभियान :
वडा नम्बर ३ का अवकासप्राप्त शिक्षक भूवनेश्वर पोखरेलले ०७० सालबाट नगरमा नेपाली र अंग्रेजी भाषामा सुन्दर हस्तकला लेखनको अभियान थालेर सृजनाको अर्को पाटोलाई प्राथमिकताकासाथ अघि बढाउनु भयो । भूवनेश्वर परिवारले उत्साही साना किसान सहकारीमा १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष खडा गरेर सुन्दर हस्तकला लेखनमा पुरस्कारको व्यवस्थापन गर्नुभएको छ । वर्षेनी प्रतियोगिताको आयोजना गरी हस्तलेखनमा उत्कृष्ठ २५ जना विद्यार्थी र नेपाली, अंग्रेजी र विद्यालयका प्रधानाध्यापक गरी ३ जना शिक्षकलाई पुरस्कृत गर्ने गरिएको छ । अक्षर नगरको पहिचान बन्नु पर्छ भन्ने भूवनेश्वरको अभियानमा शिक्षकहरु सुमन राई र शम्भूराज घिमिरे जोडिएर हाल अभियान हाँकिरहनु भएको छ । हाल कमलप्रसाद रिजाल, दीपेन्द्र बस्नेत र अष्टमान राई समेत यस कर्ममा सामेल बन्नु भएको छ । सो प्रतियोगितामा राष्ट्रिय स्तरमा सान्त्वना पुरस्कार जित्न सफल विद्यार्थी सुप्रिया खड्का हुनुहुन्छ ।
भुटानी शरणार्थीका सृजना :
स्वदेशबाट विस्थापित भुटानी शरणार्थीहरुलाई वडा नम्बर १० मा सन् १९९० अर्थात २०४६ सालबाट शिविरमा राखियो । देश गुमाउनु परेको अनि अर्काको दानमा जीवन जिउनु भएको संघर्षपूर्ण अवस्थाले त्यहाँ सृजना क्षेत्रको विकास भएको पाइन्छ । झापा र मोरङका ७ शिविरमा बसेपछि सन् १९९३ मार्च १७ मा ‘नेपाली भाषा परिषद भुटान’ गठन गरिएको थियो । जसले नेपाली भाषा, साहित्यको औपचारिक पठनपाठन समेत गरेर सो क्षेत्रमा महत्वपूर्ण योगदान दियो । उसले सन् २००३ बाट एक सय पूर्णाङ्कको पत्रकारिता विषय पनि समेट्यो । परिषदले सन् १९९४ बाट आफ्नो मुखपत्रका रुपमा ‘भुटानी कोपिला’ प्रकाशन थाल्यो । १९९८ मा कक्षा ६ र ७ मा ‘भुटान परिचय’ पुस्तक समेतको प्रकाशनले परिषदको महत्वपूर्ण योगदान झल्काउँछ ।
‘बिहानी क्लब अफ भुटान’ले सन् २००२ देखि ‘बिहानी’ साहित्यिक त्रैमासिक लघु हवाईपत्रिका र नेपाली भाषा उत्थान मञ्चले पनि सोही वर्षबाट ‘फूलबारी’ साहित्यिक त्रैमासिकहुँदै मासिक पत्रिका प्रकाशित भयो । शिविरका डिल्लीराम शर्मा आचार्य सबैभन्दा बढी कृति प्रकाशित गर्ने सर्जकमा गनिनुहुन्छ । उहाँले सन् १९९६ बाट प्रकाशन थाल्नु भइ डेढ दर्जन बढी पुस्तक प्रकाशित गरिसक्नु भएको छ । उहाँ भुटानको पहिलो महाकाव्यकार हो ।
जगन्नाथ मिश्रले १९९८ मा ‘रावणगीता’ खण्डकाव्य, सोही साल तुम्बेहाङ लिम्बूले कविता संग्रह ‘भग्न पर्खालको सयपत्री’, २००० मा पशुपति तिम्सिनाले ‘पशुपति कविता संग्रह’, सोही साल प्रतिमान शिवाले कविता संग्रह ‘डोबहरु’ प्रकाशित गर्नुभयो । सन् २००३ मा दिलबहादुर राई, राजु सुब्बा र नारायण रिजालले संयुक्त कविता संग्रह ‘रत्न’ र सोही वर्ष याम थुलुङ राई र नैनसिंह सारुमगरले पनि संयुक्त कविता संग्रह ‘दोभान’ प्रकाशनमा ल्याउनु भयो । सोही वर्ष याम थुलुङ राईले ‘आँशुका थोपाहरु’ गजल संग्रह प्रकाशित गरी पहिलो भुटानी गजल कृति प्रकाशित गर्ने सर्जक बन्नु भएको छ ।
सन् २००१ म डम्बर खरेल र नारद खरेल मिलेर कविता संग्रह ‘त्रिवेणी’ पस्किनु भएको छ । २००२ मा टीकाराम राई, लीला लिम्बू र मनिराम थुलुङले कविता संग्रह ‘पहिलो पाइला’को यात्रा थाल्नु भएको थियो । कविता संग्रहनै प्रकाशनको क्रममा सन् २००३ मा डेन्जोम राईले ‘बास बिनाको गाँस र युगको आव्हान’ ल्याउनु भएको छ भनें भोलानाथ सापकोटाले ‘सुनिता’ खण्डकाव्य र ‘भावना’ तथा सन् २००४ मा कृष्णदास भण्डारी काइलोले ‘चौसठ्ठी चोक’ गजल संग्रह प्रकाशित गरी गजल लेखनको पाटोमा जोड दिनु भएको छ ।
राजनीतिक रुपमा सक्रिय भुटान पिपुल्स पार्टी अध्यक्ष बलराम पौडेल पनि पुस्तक लेखनमा सक्रिय हुनुहुन्छ । विर्तामोड बस्दै आउनु भएका उहाँले सन् १९९५ मा ‘भुटान फर्कदा’, २००१ मा ‘भुटान हिजो र आज’सहितका पुस्तक प्रकाशित गरी आफूहरुमाथि भएको अन्याय र दमन चरितार्थ पार्नु भएको छ । नेपाली भाषा परिषद भुटानका संस्थापक अध्यक्ष गंगाराम लामिटारेले २००३ मा ‘उद्घोषण र पत्रकारिता’ पुस्तक प्रकाशित गर्नुभएको थियो । माथि चर्चा गरेकाहरुमा शनिश्चरेका मात्र नभइ झापाका अन्य शिविरका सर्जकहरु समेत जोडिनु भएको छ ।
नेपालमा भएका साहित्यिक गतिविधिबाट थप प्रभावित भएर शिविरमा समेत साहित्यक गतिविधि भए । त्यसखाले गतिविधिमा नेपाली सर्जकले प्रोत्साहन र साथ पनि दिए । त्यही मेसोमा नेपालमा ०५९ मा पूर्वाञ्चल गजल मञ्च गठनपछि ०६० भुटान गजल मञ्च गठन भयो । शनिश्चरे शिविरमा पनि गजल गतिविधि सक्रिय बन्यो ।

नेपालीभाषी पहिलो भुटानी गायकमा प्रताप सुब्बाको नाम सृजना क्षेत्रमा सबैभन्दा अग्रपंक्तिमा आउँछ । शनिश्चरे शिविरमा पटक पटक शिविर सचिव समेत बन्नु भएका उहाँको ‘बन्धनको चिनो’ भुटानमै हुँदा निस्किएको पहिलो गीती एल्बम हो । शेरु राई उदास सो शिविरमा गजलको सुरुवात गर्ने सर्जकमा पर्नुहुन्छ । केदार उप्रेती शिविरबाट निर्माण भएको चलचित्रको नायकका रुपमा उदाउनु भएका कलाकार हुनुहुन्छ । जो हाल अमेरिका पुनर्वासमा पनि चलचित्र क्षेत्रमा लागिपरिरहनु भएको छ । ज्वालामुखी, जिन्दगीको के भरोसा लगायतका चलचित्र शिविरबाट निर्माण भएका छन् । आयन रार्ई कलाकारिता प्रवद्र्धनमा सामेल बन्नुभएको थियो ।
कर्ण तिरुवा परिवारनै गीत संगीतमा लागेको परिवारमा पर्छ । इन्द्रजित आचार्य सानै उमेरदेखिका विलक्षण प्रतिभा हुनुहुन्छ । भक्त घिमिरे, शिव रिमाल, भीम तिम्सिना, पशुपति तिम्सिना, रुपनारायण पोखरेल, भोलानाथ शिवाकोटी पुरानाघरे, तुम्बेहाङ लिम्बू, चन्द्रा खरेल, विवश भुटानी, गंगाराम बयलकोटी, रिमेन आलोक, दुर्गाप्रसाद रिमाल, उमेश आचार्यहरु शिविरमै रहँदादेखि नै सृजना क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।
हाल अष्ट्रेलियामा रहनु भएका रिमेनले गजल संग्रह देश हराएको रात, रदिफ काफिया, कंगारुको देशबाटसहितका कृति प्रकाशित गरिसक्नु भएको छ ।

हेम गिरी बालभित्ते पत्रिकासहितका सृजनात्मक कामबाट अगाडि बढ्दै पत्रकारिता समेत गर्ने सर्जकमा गनिनु भएको थियो ।
शिविरमा मूर्तिनाटक भित्र्याउने बेलडाँगी शिविरबाट शनिश्चरे शिविरमा स्थानान्तरण बन्नु भएका कलाकार दिलिप राखालीको अगुवाईमा पछिल्लो समय टेलिश्रृंखला ‘हाम्रो छिमेकी’, ‘आमाको चिठ्ठी’ लगायतसञ्चालन गर्नुभयो । शिविरमा सुजना डान्स सेन्टर, भुटनिज डान्स ग्रुपसहितका संस्थाहरु कला तथा साहित्यका गतिविधिमा सामेल छन् । आफ्नी छोरीको नाममा रेजु राई र कमला राईले सुजना डान्स सेन्टर स्थापना गरी त्यसमार्फत शिविरमा सृजना प्रवद्र्धनको काम भइरहेको छ । वितेस राई, सुजता घिसिङ, एलन राईहरु यसबेला नृत्यमा सक्रिय हुनुहुन्छ । झापाहुँदै तेस्रो मुलुक पुनर्वास बन्नुभएका डिल्ली अधिकारी, शनिश्चरेमै रहनु भएका राम बानियाँहरुको समूहबाट खडा भएको इन्ट्रा फाउण्डेशनले सर्वाधिक पुरस्कार राशिको गायन र नृत्यको अन्तरार्ष्िट्रय प्रतिष्पर्धा सञ्चालन गर्दै आएको छ । जसको डान्स युनिभर्समा बेलडाँगी र पथरीको टोलीको सामुहिक नृत्य पछिल्लो प्रतियोगितामा विजेता बन्न पुगेको थियो । निषित विश्वकर्मा द भ्वाइस अफ किड्स्को उत्कृष्ठ ४ मा र दावा तामाङ भ्वाइस अफ नेपालको उत्कृष्ठ ६ मा पर्न सफल भएर शिविरभित्र पनि कलाकारितामा प्रोत्साहन थपिएको छ ।
सवैले सृजनाको उज्यालोमार्फत सवैको मन उज्यायो बनाउन र मनले बाँच्ने समतामूलक समाजको निर्माणमा जुट्नसके यो परिवेश साँच्चैको उज्यालो बन्ने थियो कि ?
(पथरी शनिश्चरे नगरको लेखनवृत्ति कार्यक्रमका लागि तयार सामग्री)









