महिनावारी महिलाको शरीरमा हुने एउटा नियमित प्राकृतिक प्रक्रिया हो। तर, यो समयमा धेरै महिलाले पेट दुख्ने, ढाड भारी हुने, शरीर गल्ने, टाउको दुख्ने, बान्ता हुने वा रिँगटा लाग्ने जस्ता विभिन्न शारीरिक समस्याहरू भोगिरहेका हुन्छन्। कतिपयलाई त दुखाइ कम गर्ने औषधि (पेनकिलर) बिना दैनिक कामकाज गर्नसमेत गाह्रो पर्छ।
यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिन सके प्राकृतिक रूपमा पनि पीडालाई धेरै हदसम्म कम गर्न सकिने चिकित्सकहरूको सुझाव छ। विशेषज्ञका अनुसार महिनावारीको समयमा शरीरलाई आराम दिने तथा दुखाइ कम गर्न मद्दत गर्ने केही खानेकुरा र बार्नुपर्ने कुराहरू यसप्रकार छन्:
१. महिनावारीमा फाइदाजनक खानेकुराहरू
केरा: केरामा फाइबर र म्याग्नेसियम प्रशस्त पाइन्छ। यसले पेटको असहजता कम गर्नुका साथै मांसपेशी खुम्चिने समस्या घटाएर दुखाइ कम गर्न सहयोग गर्छ।
कागती: धेरैले महिनावारीमा अमिलो खानु हुँदैन भन्ने अन्धविश्वास राख्छन्। तर, चिकित्सकका अनुसार यो केवल भ्रम मात्र हो। कागतीमा पाइने भिटामिन ‘सी’ ले शरीरमा आइरन सोस्ने (Absorb गर्ने) क्षमता बढाउँछ, जसले गर्दा रक्तअल्पता र कमजोरी हुन पाउँदैन।
सुन्तला: सुन्तलामा पनि पर्याप्त भिटामिन ‘सी’ पाइन्छ। यसले शरीरलाई ताut दिनुका साथै महिनावारीको समयमा हुने असहजता कम गर्न मद्दत गर्छ।
खरबुजा: खरबुजामा पानीको मात्रा धेरै हुनुका साथै विभिन्न भिटामिन र खनिज तत्वहरू हुन्छन्, जसले शरीरलाई हाइड्रेट राख्छ। यसले थकान कम गरी शरीरलाई हल्का र सहज महसुस गराउँछ।
अदुवा वा क्यामोमाइल चिया: थोरै चिनी राखेर वा बिना चिनीको अदुवा चिया महिनावारीको समयमा निकै लाभदायक मानिन्छ। यसले पेट दुख्ने, वाकवाकी लाग्ने र टाउको दुख्ने समस्या कम गर्छ। यसका साथै क्यामोमाइल चिया पनि यो समयमा उपयोगी हुन सक्छ।
२. महिनावारीमा के खानेकुरा कम गर्ने वा नखाने
दूध हालेको चिया र कफी: महिनावारीको समयमा दूध हालेको चिया धेरै पिउँदा ग्यास्ट्रिकको समस्या बढ्न सक्छ र पेट झन् दुख्न सक्छ। त्यस्तै, कफीमा हुने क्याफिनले शरीरलाई डिहाइड्रेट गराउने र असहज बनाउने भएकाले सकेसम्म कम पिउनु राम्रो हुन्छ।
चिल्लो, पिरो र जंक फुड: अत्यधिक चिल्लो, पिरो, मसलादार, र क्यान (बट्टा) मा राखिएका वा प्रशोधित खानेकुराहरूले शरीरमा ग्यास र सुन्निने समस्या बढाउँछन्।
दूधजन्य पदार्थ: केही महिलाहरूमा धेरै दूधजन्य पदार्थ (डेयरी प्रोडक्ट) ले पनि पेट दुख्ने समस्या बढाउन सक्छ।
गेडागुडी (केही अवस्थामा): केही महिलाहरूमा गेडागुडी खाँदा पेट फुल्ने वा असहज हुने समस्या देखिन्छ।
महिनावारीको समयमा धेरै भारी वा अपाच्य खानेकुरा खानुको सट्टा हल्का, तातो र सजिलै पच्ने घरमै बनेको खाना खानु बढी उपयुक्त र स्वास्थ्यवर्द्धक मानिन्छ।









