काठमाडौं । ताहाचलस्थित वैदेशिक रोजगार विभागको परिसर छिर्दा अचेल विगतको जस्तो ‘कोलाहल’ सुनिँदैन । न झ्याल–झ्यालमा ठेलमठेल गर्ने सेवाग्राहीको ताँती देखिन्छ, न त ‘सेटिङ’ मिलाइदिने भन्दै कानमा सुटुक्क हल्ला गर्ने बिचौलियाको बिगबिगी नै भेटिन्छ ।
कुनै समय श्रमिकका आँशु र आक्रोशले भरिने यो कार्यालय विस्तारै एउटा शान्त प्रशासनिक अड्डाको स्वरूपमा रूपान्तरण हुँदैछ । विगतमा दैनिक २ देखि ५ सयको हाराहारीमा विभाग परिसरमा समस्या लिएर सर्वसाधारण पुग्ने गरेका थिए
तर, यहाँ उठ्ने सबैभन्दा ठूलो प्रश्न– के श्रमिकका पीडा कम भएरै एकाएक यो भीड घटेको हो त?
पक्कै होइन । ठगी कम भएर भीड घटेको हुँदै होइन । विभागको काम गराईको तौरतरिका र भौतिक व्यवस्थापन विगतको तुलनामा फरक पाइए पनि नीतिगत जटिलताका कारण पीडितहरूसँग मागिने अनेकन प्रमाणका कारण वर्षौंसम्म उनीहरूले न्याय पाउन सकेका छैनन् ।
विभागकी प्रवक्ता विन्दा आचार्यका अनुसार वैदेशिक रोजगारीका क्रममा ठगिएका श्रमिकमा न्याय पाउने अपेक्षा बढेसँगै केही महिनाअघि विभागमा अत्यधिक भीड देखिएको थियो । विभागले अहिले उजुरी, गुनासो र मुद्दालाई प्राथमिकतामा राखेर काम गरिरहेको, नयाँ उजुरी दर्ता भएकै दिन वा भोलिपल्टभित्र अनुसन्धान अधिकृत तोक्ने व्यवस्था गरेको र वेबसाइटमा विभिन्न सेवाका लागि १७ वटा सम्पर्क नम्बर सार्वजनिक गरेको दाबी त गरेको छ, तर पुराना उजुरी फछ्र्यौटमा अझै ठूलो चुनौती छ ।
अहिले ठगीको शैली फेरिएको छ । म्यानपावर कम्पनीभन्दा व्यक्तिगत रूपमा हुने ठगी बढ्दो क्रममा छ । सामाजिक सञ्जाल, नक्कली आईडी र विदेशमा बसेर सञ्चालन हुने नेटवर्कमार्फत धेरै नेपाली ठगिने गरेका छन् । प्रमाणबिनै ठूलो रकम बुझाउने प्रवृत्तिका कारण पीडितलाई न्याय दिलाउन झनै कठिन भइरहेको छ ।
कसैको जापान जाने सपना अधुरो छ, कसैको रोमानिया पुग्ने आशा । विभागले सुधारका प्रयास भइरहेको दाबी गरिरहँदा ठगीमा परेकाहरूका लागि सबैभन्दा ठूलो प्रश्न अझै उही छ,– न्याय कहिले पाइन्छ?
खबरदारी: वैदेशिक रोजगारीका ‘सफा पोसाकधारी’ ठगहरूबाट कसरी बच्ने?
वैदेशिक रोजगारीको प्रलोभन देखाएर सोझासाझा युवाको रगत–पसिना चुस्ने ठगहरूको सञ्जाल अचेल गाउँ-गाउँ र फेसबुकका भित्ता-भित्तासम्म पुगिसकेको छ । यदि तपाईं वा तपाईंको कोही आफन्त विदेश जाने सोचमा हुनुहुन्छ भने यी कुराहरू गिदीमा राम्रोसँग घुसारेर राख्नुस्, नत्र बर्बाद हुनुहुनेछ:
सामाजिक सञ्जालका ‘एजेन्ट’ बाट सावधान! फेसबुक, टिकटक, टेलिग्राम वा ह्वाट्सएपमा “रोमानिया, क्रोएसिया, माल्टा वा जापानका लागि अर्जेन्ट डिमाण्ड, आकर्षक तलब” भन्दै राखिएका विज्ञापन ९९ प्रतिशत ठगी धन्दा हुन् । आकर्षक फोटो र भिडियोकै भरमा कसैलाई पनि आफ्नो राहदानी (पासपोर्ट) र पैसा नसुम्पनुहोस् ।
नगद कारोबार नगर्नुस्, प्रमाण लुकाउने भूल कहिल्यै नगर्नुस्: ठगहरूको सबैभन्दा ठूलो हतियार भनेको उनीहरू पैसा हातैमा (नगद) माग्छन् वा आफ्ना नातागोताको बैंक खातामा हाल्न लगाउँछन् । “म पछि मिलाउँछु, अहिले नगदै देऊ” भन्यो कि बुझ्नुस्– त्यो ठग हो । जतिसुकै विश्वासिलो मान्छे भए पनि बैंकिङ च्यानलबाट मात्र पैसा पठाउनुस् र भौचरमा स्पष्ट रूपमा “वैदेशिक रोजगारका लागि” भनेर खुलाउन लगाउनुस् ।
लाइसेन्स प्राप्त म्यानपावर मात्र आधिकारिक हो: व्यक्तिगत रूपमा कसैले पनि तपाईंलाई विदेश पठाउन सक्दैन । जुन संस्था वा व्यक्तिसँग कुरा भइरहेको छ, त्यसको इजाजतपत्र (लाइसेन्स) वैदेशिक रोजगार विभागबाट स्वीकृत छ कि छैन, अनिवार्य रूपमा चेक गर्नुहोस् ।
यदि तपाईं ठगीमा परिसक्नुभयो भने अबको अन्तिम उपाय के हुन सक्छ?
यदि कसैले तपाईंलाई विदेश पठाइदिन्छु भनेर लाखौं रकम खाइसक्यो र अहिले फोन नउठाउने, लुकेर बस्ने वा धम्काउने गरिरहेको छ भने आँशु बगाएर समय खेर नफाल्नुस् । तत्काल यी कदम चाल्नुस्:
प्रमाणहरू जम्मा पार्नुस्: उसलाई पैसा बुझाएको बैंक भौचर, उसले गरेका म्यासेजहरू, ह्वाट्सएप च्याटको स्क्रिनसट, कल रेकर्डिङ र उसले दिएको कुनै तमसुक वा कागजपत्र छ भने त्यसलाई सुरक्षित गर्नुहोस् ।
वैदेशिक रोजगार विभाग वा जिल्ला प्रशासन कार्यालयमा उजुरी: यदि म्यानपावर वा इजाजतप्राप्त एजेन्टले ठगेको हो भने काठमाडौंको ताहाचलस्थित विभागमा सिधै उजुरी दिनुहोस् । यदि व्यक्तिगत रूपमा कसैले ठगेको हो भने आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा ‘ठगी मुद्दा’ अन्तर्गत तत्काल उजुरी दर्ता गराउनुहोस् ।
विदेशमा लुकेका ठगविरुद्ध इन्टरपोलको सहारा: यदि तपाईंलाई ठग्ने मुख्य नाइके विदेशमै बसेर नेटवर्क चलाइरहेको छ भने पनि विभाग र प्रहरीमार्फत इन्टरपोलको सहयोगमा ‘रेड कर्नर नोटिस’ जारी गराएर नेपाल झिकाउने कानुनी प्रक्रिया अगाडि बढाउन सकिन्छ । डर र धम्कीको अगाडि नझुक्नुस्, कानुनी उपचारमा जानुस् ।
विदेश जानै परे सुरक्षित बाटो के हुन सक्छ?
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने एउटै मात्र सुत्र छ– सजगता र सरकारी च्यानलको प्रयोग ।
विभागीय वेबसाइट (FEIMS) को प्रयोग: नेपाल सरकारको वैदेशिक रोजगार विभागको आधिकारिक वेबसाइट (www.dofe.gov.np) मा गएर कुन देशका लागि कुन म्यानपावरमा कति डिमाण्ड आएको छ, सम्झौता अनुसारको तलब कति हो र उक्त म्यानपावर कानुनी रूपमा सक्रिय छ कि छैन भन्ने कुरा घरमै बसेर मोबाइलबाटै सजिलै हेर्न सकिन्छ ।
जी-टु-जी (G2G) वा सरकारी माध्यमलाई प्राथमिकता: सकेसम्म सरकार आफैंले सम्झौता गरेर पठाउने दक्षिण कोरिया (EPS), इजरायल (केयरगिभर), वा बेलायत (सिजनल भिजिट) जस्ता सुरक्षित र सरकारी माध्यम (G2G) बाट जाने प्रयास गर्नुस्, जहाँ ठगिने सम्भावना शून्य रहन्छ ।
श्रम स्वीकृति (लेबर) अनिवार्य: नेपाल सरकारको वैदेशिक रोजगार कार्यालयबाट अनिवार्य रूपमा श्रम स्वीकृति लिएर मात्रै उड्नुहोस् । भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जानु पूर्ण रूपमा गैरकानुनी हो र यसरी जाँदा अलपत्र परेमा वा ज्यान गुमेमा सरकारले कुनै पनि राहत वा क्षतिपूर्ति दिँदैन ।
अभिमुखीकरण तालिम र सीप: विदेश जानुअघि अनिवार्य रूपमा लिइने अभिमुखीकरण (Orientation) तालिमलाई झेली काम नगर्नुस् । त्यहाँ दिइने कानुनी ज्ञान, सुरक्षित रहने उपाय र आपतकालीन नम्बरहरूले भोलि मरुभूमिमा अलपत्र पर्दा तपाईंको ज्यान जोगाउन सक्छन् ।
तपाईंको सानो लापरवाहीले जीवनभरको कमाइ मात्र डुब्दैन, पूरै परिवार सडकमा आउन सक्छ । बुझ्दै नबुझी कसैको हातमा पैसा थमाउनु अघि सय पटक सोच्नुहोस् !









