दमक १ असार ।कोशी प्रदेशमा पछिल्लो पाँच वर्षमा पूर्वाधार विकासले उल्लेखनीय गति लिएको छ। प्रदेश सरकारको स्थापना हुँदा संघीयताको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको थियो। तर आज प्रदेशका गाउँ, बस्ती र बजारलाई जोड्ने सडक, पुल र यातायात पूर्वाधारले प्रदेशस्तरको लगानीको प्रत्यक्ष अनुभूति गराउन थालेका छन्।
विशेषगरी सडक सञ्जाल विस्तार र स्तरोन्नतिमा कोशी प्रदेशले हासिल गरेको प्रगति प्रदेश सरकारका महत्वपूर्ण उपलब्धिमध्ये एक मानिन्छ। विगतमा वर्षायाममा हिलाम्मे हुने र हिउँदमा धुलाम्मे बन्ने सडकहरू क्रमशः कालोपत्रे हुँदै जाँदा ग्रामीण क्षेत्रका नागरिकको दैनिक जीवन, व्यापारिक गतिविधि र सेवा प्रवाहमा सकारात्मक परिवर्तन देखिन थालेको छ।
आर्थिक वर्ष २०७८÷०७९ सम्म कोशी प्रदेशमा कुल १३ हजार १२९ किलोमिटर सडक सञ्जाल रहेको थियो। त्यसमध्ये कालोपत्रे सडकको हिस्सा केवल ८४६ किलोमिटर थियो। प्रदेश सरकार गठनको प्रारम्भिक चरणमा आर्थिक वर्ष २०७५÷०७६ मा जम्मा २६.१८ किलोमिटर सडक मात्र कालोपत्रे भएको थियो।
तर त्यसपछिका वर्षहरूमा सडक स्तरोन्नतिको गति उल्लेखनीय रूपमा बढ्यो। आर्थिक वर्ष २०७८÷०७९ सम्ममा प्रदेश सरकारले २१७ किलोमिटर सडक कालोपत्रे गरिसकेको थियो भने आर्थिक वर्ष २०८०÷०८१ सम्म आइपुग्दा यो परिमाण बढेर ५२७.९१ किलोमिटर पुगेको थियो। पछिल्लो आर्थिक वर्ष २०८२÷०८३ सम्म थप १८३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।
सडक कालोपत्रे मात्र होइन, ग्रामीण पहुँच विस्तारमा समेत प्रदेश सरकारले निरन्तर लगानी गरेको छ। आर्थिक वर्ष २०७५÷०७६ यता हालसम्म १ हजार ५६६ किलोमिटर सडकमा ग्राभेल गरिएको छ भने १ हजार ३८२ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ। यस अवधिमा १ हजार १८९ किलोमिटर सडक मर्मत गरी सञ्चालनयोग्य बनाइएको छ।
त्यसैगरी ३९ किलोमिटर आरसीसी सडक, १२५ किलोमिटर सोलिङ सडक निर्माण तथा ४४० किलोमिटर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। यी तथ्याङ्कहरूले प्रदेशका दुर्गम क्षेत्रलाई यातायात पहुँचमा ल्याउने प्रयास निरन्तर भइरहेको देखाउँछन्।
पूर्वाधार विकासको अर्को महत्वपूर्ण पक्ष पुल निर्माण पनि हो। नदी, खोल्सा र भौगोलिक कठिनाइका कारण लामो समयसम्म यातायातबाट वञ्चित क्षेत्रहरू अहिले पुलमार्फत सहज रूपमा जोडिन थालेका छन्। पछिल्लो पाँच वर्षमा प्रदेश सरकारले ११२ वटा सडक पुल निर्माण सम्पन्न गरेको छ। यसका अतिरिक्त २५९ वटा झोलुङ्गे पुल निर्माण भएसँगै ग्रामीण बस्तीका हजारौं नागरिकले सुरक्षित आवतजावतको सुविधा पाएका छन्।
पूर्वाधार विज्ञहरूका अनुसार सडक र पुल केवल निर्माणका संरचना मात्र होइनन्, ती आर्थिक विकासका आधार हुन्। सडक पुगेपछि कृषि उत्पादन बजारसम्म पुग्छ, उद्योग सञ्चालनका सम्भावना बढ्छन्, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार हुन्छ र स्थानीय अर्थतन्त्र चलायमान बन्छ।









