बिर्तामोड १६ असार । पूर्वी नेपालको चर्चित सांगीतिक प्रतियोगिता ‘झापा रकस्टार’ को तेस्रो संस्करणअन्तर्गत आयोजित ‘कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ को फिजिकल अडिसन बिर्तामोडमा सम्पन्न भएको छ।
पहिलो चरणको डिजिटल अडिसन पार गरेका सात ब्यान्डले सोमबार साँझ बिर्तामोडस्थित मोक्ष रेस्टुरेन्टमा आयोजित फिजिकल अडिसनमा आफ्नो सांगीतिक प्रतिभा प्रस्तुत गरेका हुन्।
कार्यक्रमका जनसम्पर्क अधिकृत प्रकाश संग्रौलाका अनुसार डिजिटल अडिसनमा सहभागी १२ ब्यान्डमध्ये झापाका विभिन्न स्थानका ब्यान्डहरु बेस क्लिप ब्यान्ड, रागभर्स, स्ट्रबेरी ब्यान्ड, जेनम ब्यान्ड, कालचक्र ब्यान्ड, यात्री ब्यान्ड र इलामको आवाज ब्यान्ड फिजिकल अडिसनका लागि छनोट भएका थिए। उनीहरुले फाइनल प्रवेशका लागि फिजिकल अडिसनमा हिजो प्रस्तुति दिएका हुनु्ु ।
संग्रौलाका अनुसार फिजिकल अडिसनबाट उत्कृष्ट पाँच ब्यान्ड फाइनल चरणमा प्रवेश गर्नेछन्। झापा रकस्टारको फिजिकल अडिसनको निर्णायकको रूपमा जोनी योञ्जन, सुवास श्रेष्ठ, अर्पण सापकोटा र अर्जुन दाहाल रहनु भएको थियो । फिजिकल अडिसनको नतिजा भने बुधबार सार्वजनिक गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको फिनाले असार २६ गते बिर्तामोडस्थित अग्रसेन भवनमा आयोजना हुने तय भएको निर्देशक सुनिता तामाङले जानकारी दिनुभयो । फाइनलअघि छनोट भएका ब्यान्डहरूका लागि विशेष क्लोज क्याम्प सञ्चालन गरिने पनि तामाङले बताउनुभयो ।
अमृत स्टोर, बिर्तामोडको प्रस्तुतिमा तथा एनएसएस इभेन्ट को व्यवस्थापनमा सञ्चालन भइरहेको यस संस्करणमा पहिलोपटक कोशी प्रदेशभरिका ब्यान्डहरू सहभागी भएका छन्।
झापा रकस्टारका प्रमुख अमृत पौडेलले प्रतियोगिताको उद्देश्य संगीत क्षेत्रमा सक्रिय युवा तथा नवप्रतिभालाई आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पूर्वी नेपालका उदाउँदा ब्यान्डहरूलाई व्यवस्थित मञ्च उपलब्ध गराउनु रहेको बताउनुभयो।
प्रतियोगिताको विजेता ब्यान्डले ५० हजार रुपैयाँ नगद, गिटार, पोर्टफोलियो सुट तथा अफिसियल म्युजिक भिडियो निर्माण गर्ने अवसर प्राप्त गर्नेछ। दोस्रो हुने ब्यान्डले ३० हजार रुपैयाँ नगद, गिटार र पोर्टफोलियो सुट प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने ब्यान्डले २० हजार रुपैयाँ नगद, गिटार र पोर्टफोलियो सुट पुरस्कारस्वरूप पाउने आयोजकले जनाएको छ।
यसअघि २०८१ साल मा आयोजित पहिलो संस्करण ‘खुला ब्यान्ड ब्याटल’ र दोस्रो संस्करण ‘अन्तरविद्यालय स्तरीय ब्यान्ड ब्याटल’ सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यस वर्ष प्रतियोगिताले आफ्नो दायरा विस्तार गर्दै ‘कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’का रूपमा आयोजना गरिएको हो।









