झापा ,१६ असार । जल तथा मौसम विज्ञान विभागले असार १६ र १७ गते पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखाएपछि जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले मेघगर्जन, चट्याङसहित ठूलो वर्षा हुन सक्ने भएकाले नदी किनार, खोला आसपास र डुबानको जोखिममा रहेका क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।
झापाका कनकाई, बिरिङ, रतुवा, मेची, मावा र निन्दा नदी आसपासका क्षेत्र विगतदेखि नै बाढीको जोखिममा पर्दै आएका छन्।
जिल्लाका गौरीगञ्ज, कचनकवल, बाह्रदशी, झापा, कमल, शिवसताक्षी र भद्रपुर क्षेत्र डुबानको उच्च जोखिममा रहेको प्रशासनले जनाएको छ।
सम्भावित विपद्को सामना गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस तथा स्थानीय तहका संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले उद्धार, राहत र आपतकालीन व्यवस्थापनका लागि योजना बनाएर तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन्।
नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार जिल्लाका आठ हजारभन्दा बढी घरधुरी बाढीको उच्च जोखिममा छन्। आकस्मिक अवस्थाका लागि विभिन्न स्थानमा राहत सामग्री भण्डारण गरिएको र स्वयंसेवक टोलीलाई तयारी अवस्थामा राखिएको जनाइएको छ।
प्रशासनले सर्वसाधारणलाई खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न, मौसमको अवस्था बुझेर मात्र बाहिर निस्कन र सम्भावित जोखिमबाट बच्न आग्रह गरेको छ।









