काठमान्डौं ,१६ असार । नेपाली चलचित्रकी अभिनेत्री उषा रजकले सामाजिक सञ्जालमार्फत आफूलाई मध्यरातमा पटक–पटक फोन गरेर मानसिक तनाव दिएको भन्दै एक पुरुषको च्याट र कल विवरण सार्वजनिक गरेकी छन्।
उषाले ‘सन्जोक कार्की’ नामका डिजिटल क्रिएटरमाथि फेसबुक म्यासेन्जरमार्फत रातको समयमा लगातार अडियो कल गरेर दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्।
उनले सार्वजनिक गरेको स्क्रिनसटमा सन्जोक कार्कीले उनको स्टोरीमा प्रतिक्रिया दिएको र त्यसपछि राति ३ बजेर १९ मिनेट, ४ बजेर ४ मिनेट र ४ बजेर २३ मिनेटमा लगातार म्यासेन्जर कल गरिएको देखिएको दाबी गरिएको छ।
उषाले एउटी महिलालाई मध्यरातमा यसरी पटक–पटक फोन गर्नुको उद्देश्य के हो भन्दै प्रश्न उठाएकी छन्। उनले सामाजिक सञ्जालमा हुने यस्ता व्यवहारलाई सामान्य रूपमा लिन नहुने र साना भनिएका दुर्व्यवहारले भविष्यमा ठूलो समस्या निम्त्याउन सक्ने बताएकी छन्।
उनले हिंसा र दुर्व्यवहारविरुद्ध बोल्नु आफ्नो सामाजिक जिम्मेवारी भएको उल्लेख गर्दै पीडितलाई चुप नबस्न आग्रह गरेकी छन्।
उषाले विगतमा ‘मी टू’ अभियानका क्रममा आफूले उठाएको आवाजको प्रसंगसमेत जोड्दै हिंसाविरुद्ध बोल्ने महिलालाई कमजोर बनाउने प्रयास नगर्न आग्रह गरेकी छन्।
उनले यस्ता घटनामा परेकाहरूलाई नेपाल प्रहरीको साइबर ब्युरोमा सम्पर्क गर्न पनि सुझाव दिएकी छन्।









